महाधिवेशन टार्ने चलखेलमा सभापति देउवा: रामचन्द्र पौडेल


जेठ ७, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा महाधिवेशन टार्ने चलखेलमा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीको कैलारी गाउँपालिकाको हसुरियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् ।
null
‘पार्टीको १४ औं महाधिवेशन टार्नका लागि संगठनका सबै काममा ढिलासुस्ती गरिएको छ । पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनाको काम गर्न ढिलाई गरिँदै छ’, पार्टीको जागरण अभियानमा पार्टीकै सभापतिमाथि खनिदै वरिष्ठ नेता पौडेलले भने, ‘संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिदैछ। यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको प्रष्ट हुन्छ । पार्टीका भातृ संगठनको अधिवेशनमा आफ्नो पक्ष हार्ने डरले सभापति शेरबहादुर देउवाले नै महाधिवेशन रोकेका हुन् । ’
त्यस्तै नेता पौडेलले संवैधानिक परिषद्मा प्रतिपक्ष दलको प्रतिनीधित्व नहुनु गम्भीर विषय भएको स्पष्ट पार्दै परिषद्को बैठकमा सहभागी नभएर पार्टी सभापति देउवाले ठूलो गल्ती गरेको बताए । पौडेलले कांग्रेसले गाँउ गाँउबाट संगठन गरेर नेपाली कांग्रेसलाई ठूलो बनाउनुपर्ने उनकाे भनाइ छ ।
कार्यक्रममा नेता पौडेलले सरकारको पनि चर्को आलोचना गरे । रातो झन्डा ओढेका अपराधीलाई उन्मुक्ति दिन प्रेसको मुख थुन्ने गरी कानुन बनाउन सरकार लागी परेको उनको आरोप छ ।
संघीयताको मर्मविपरीत सबै कुरा केन्द्रीकृत गर्न प्रधानमन्त्री आफैँ लागेको उनले जिकिर गरे ।
