‘नेकपा उज्यालोको प्रतिनिधि हो, मुलुकलाई सकारात्मक दिशामा लैजान सक्छ’

 

गएको साल वास्तवमै एउटा चुनौतीपूर्ण वर्षको रुपमा बित्यो । गत सालको सुरुमै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वेत पत्रमार्फत् केही गम्भीर प्रश्नहरु सदनमा उठाउनु भएको थियो । आज पनि ती प्रश्नहरुले पटक–पटक हामीलाई घचघच्याइरहेको छ । वास्तवमा यो गएको सालमा निकै नै डरलाग्दो आर्थिक विचलनहरु प्रकट भएका थिए । यो गएको वर्ष नेपाल कम्युनिष्ट पार्टीको सरकारले अर्थतन्त्रलाई थप चौपट हुनबाट जोगाएको छ । अर्थतन्त्रलाई ओरालो लाग्ने दिशाबाट रोकेको छ । 

यद्यपि उकालो लाग्ने अवस्था अझै पनि सिर्जना भइसकेको छैन । कुनै पनि काम बिगार्नु भन्दा बरु त्यसलाई नगरेर त्यही अवस्थामा राख्नु उपयुक्त हुन्छ । यो गएको साल अर्थतन्त्रलाई झन् नकारात्मक दिशामा जान नदिएर एउटा स्थिर ठाउँमा राख्ने कामसम्म भएको छ, यो महत्वपूर्ण कुरा हो । अब यसले आगामी बाटोलाई सहज बनाउँछ । 

null

गत वर्षमा संरचनागत व्यवस्थाहरु, कानूनी व्यवस्थापनहरु, वित्तीय व्यवस्थापन, कर्मचारी समायोजन जस्ता प्रश्न र संघीयता कार्यान्वयनको पहिलो वर्ष भएको हुनाले त्यो कार्यान्वयनको वर्षले हाम्रो बजेटको खर्च प्रणाली र कतिपय त्यसबाट आउनु पर्ने परिणामहरुमा सकारात्मक प्रभाव नदेखिएको हो । 

तर, अब परिस्थिति बदलिएको छ । अब आउने वर्ष हामीले सम्पूर्ण व्यवस्थापन गरेका छौँ । संसदले थुप्रै कानूनहरु निर्माण गरेको छ । संघीयता, अन्तरप्रदेश समन्वय समितिहरु बनेका छन् । प्राकृतिक स्रोतसाधन र वित्तीय बाँडफाँड आयोग बनेको छ । यी संरचनाहरु निर्माणसँगै १५ औं योजना पनि हाम्रो सामून्य आएको छ । यी नै आधारमा अर्थमन्त्रीले यो विनियोजन शिर्षकका प्राथमिकताहरु प्रस्तुत गर्नुभएको छ । 

‘चुनौतीहरुलाई ख्याल गर्दै आगामी बजेट बनाउन आवश्यक छ । हामीले राष्ट्रिय गौरवका आयोजनाका कुराहरु गर्छौं, त्यो महत्वपूर्ण कुरा हो । तर, एउटा राष्ट्रिय गौरवको आयोजना कति वर्षसम्म त्यो राष्ट्रिय गौरवको आयोजना हुन्छ ? वर्षौं वर्षसम्म पनि त्यसलाई राष्ट्रिय गौरवको सूचीमा राखिरहेका छौं । यो त्यति सुहाउने कुरा होइन ।’ 

गाउँतिर आइतबार जन्मेको मान्छेलाई आइते भनिन्छ, सोमबार जन्मेकोलाई सोमे । त्यो चरित्र कहिँ न कहिँ देखिन्छ । मलाई लाग्छ, कहिलेकाहीँ यो औँशीको रातमा जन्मेका मानिसहरुले सायद जतासुकै अन्धकार नै देख्छन् । यस्तो प्रवृत्ति हुनसक्छ । तर, यो दुनियाँमा अँध्यारोमात्रै छैन । उज्यालाहरु पनि छन् । हामी त्यो उज्यालोका प्रतिनिधिहरु हौंं । नेपाल कम्युनिष्ट पार्टी त्यो उज्यालोको प्रतिनिधि हो । 

अन्धकारसँग जुध्दै, ती चुनौतीहरुसँग लड्दै अगाडि बढ्ने संकल्प गरेर आएको पार्टी हुनुको नाताले मलाई विश्वास छ, आगामी दिनमा, आगामी वर्षहरुमा हामी मुलुकलाई सकारात्मक दिशामा अगाडि लैजान सक्छौं । हामीले आज हेर्दा हाम्रो सम्भावना के छ, हामी कति अगाडि जान सक्छौं ? कि स्रोतका रुपमा हेर्ने हो भने नेपाल एउटा पर्याप्त प्राकृतिक स्रोत साधन भएको मुलुक हो । जनसंख्याको हिसाबले हेर्ने हो भने आज यो दशक हाम्रो निम्ति सबभन्दा अनुकुल दशक हो । 

१५ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसहरु लगभग धेरै काम गर्न सक्ने उमेर समूह हेर्ने हो भने झण्डैं ५७ प्रतिशत छ । जुन आज दुनियाँमा एउटा ठूलो श्रम शक्ति नेपालमा छ । र, हाम्रो श्रम शक्तिले नेपाल बनाउनु पर्थ्याे तर, विडम्बना अरु देश बनाइराखेका छन् । आज जापान, जर्मनजस्ता धेरै मुलुकहरु काम गर्ने कार्यक्षमता भएका जनशक्ति नहुँँदा उनीहरु ज्याँदै चिन्तित छन् । तर, हामीसँग यो एउटा ठूलो स्रोत छ । हामीसँग जनअनुमोदित बलियो सरकार छ । त्यो आजका निम्ति एउटा अनुकुल परिस्थिति हो । 

छिमेकमा ठूला दुई मुलुक छन्, ती देशका बजार हाम्रा निम्ति अनुकुल अवस्था हो, स्थानीय प्रदेश र स्थानीय तहमा झण्डैं ४० हजार जनप्रतिनिधिहरुले काम गरिरहेका छन् । त्यो आउने वर्षका लागि एउटा राम्रो सम्भावना हो । त्यसैले यो विनियोजन विधेयक २०७६ ले यो सम्भावनालाई बोक्दै आगामी वर्षका लागि ती कुराहरुलाई अगाडि सारेको छ । यसमा मेरो समर्थन छ । 

हाम्रा केही चुनौतीहरु छन् । विशेषगरी राजनीतिक परिस्थिति अनुकुल हुँदाहुँदै पनि हिजोका परम्परागत मानसिकताहरु, हिजोका कार्यशैलीहरु हाम्रा निम्ति त्यत्तिकै चुनौतीका अवस्थामा छन् । हाम्रो पुरानो मानसिकता छ । कामहरु समयमै सम्पन्न हुन नसक्ने, जवाफदेहिता, उत्तदायित्व, सुशासनजस्ता चुनौतीहरु हाम्रा अगाडि छन् । ती चुनौतीहरु माथि हामीले विजय प्राप्त गर्नुपर्नेछ । 

अर्थमन्त्रीलाई म भन्न चाहन्छु, यी चुनौतीहरुलाई ख्याल गर्दै आगामी बजेट बनाउन आवश्यक छ । जसले गर्दा समयमै एउटा राम्रो परिणाम दिन सक्छौं भन्ने मलाई लाग्छ। हामीले राष्ट्रिय गौरवका आयोजनाका कुराहरु गर्छौं, त्यो महत्वपूर्ण कुरा हो । तर, एउटा राष्ट्रिय गौरवको आयोजना कति वर्षसम्म त्यो राष्ट्रिय गौरवको आयोजना हुन्छ ? वर्षौं वर्षसम्म पनि त्यसलाई राष्ट्रिय गौरवको सूचीमा राखिरहेका छौं । यो त्यति सुहाउने कुरा होइन । त्यसकारणले हाम्रो प्रधानमन्त्रीले पटक पटक भनेको मैले सुन्छु, आगामी वर्ष आगामी समय केही न केही गेम चेन्ज हुन्छ । त्यस्तो आयोजनाहरु दिनुपर्छ । 

अर्थमन्त्रीलाई भन्न चाहन्छु, त्यो गेम चेन्जर के हो ? जसले नेपालको विकास प्रणालीलाई, नेपालको विकासका धारणाहरुलाई बदल्न सक्छ र नेपाललाई दुनियाँसामु एउटा समृद्ध मुलुकको रुपमा, कार्यप्रगति गर्न सक्ने मुलुकको रुपमा अगाडि ल्याउन सक्छ । वैदेशिक लगानीका सन्दर्भमा कतिपयले नेपालमा यो अनुकुल छैन, विदेशी ऋणको पासोमा पर्न सकिन्छ, विशेषगरी चीनसँगको विआरआईको सम्बन्धमा त्यस्ता कुराहरु गर्ने प्रवृत्ति मैले देखेको छु । कतिपय बंगलादेशको, कतिपय पाकिस्तानको, श्रीलंकाको उदाहरण दिइन्छ । 

म भन्न चाहन्छु, ग्रिसमा कुनै चीनको लगानी थिएन, अर्जेन्टिनामा चीनको लगानी थिएन । तर, त्यहाँको अर्थतन्त्र डामाडोल भयो । र, त्यसले आज उठ्नका निम्ति थिलोथिलो भइरहेको अवस्था छ । 

बेल्ट एण्ड रोड अन्तर्गत चीनले एउटा विशाल योजना अगाडि सारेको छ । दुनियाँका १३७ भन्दा बढी मुलुकहरुको सहभागितामा दोस्रो अन्तराष्ट्रिय सम्मेलनबाट नेपालले कसरी फाइदा लिने ? नेपालले यसमा एउटा स्पेशल डिभिजन बनाएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । 

(नेकपा नेता भट्टराईले सोमबार प्रतिनिधिसभाको प्रि–बजेट छलफलमा राखेको धारणको सम्पादित अंश । ) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *