भारतमा पाँचौ चरणको मतदान हुँदै, यसकारण महत्वपूर्ण छ आजको निर्वाचन

एजेन्सी । भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । 

जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ । यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ । यस चरणमा कूल ६७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् । 

 

null

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ । यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ । 

तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुबै स्थानमा कङ्ग्रेस नै विजयी हुने अडकलबाजी गरिएका छन् । यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कङ्ग्रेसले दुई स्थान मात्र जितेको थियो । 

कङ्ग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो । भारतीय चुनाव आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको छ । साथै चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडान बनाएको छ । 

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका कूल ५४२ मध्ये ४२४ स्थानका लागि चुनाव समाप्त हुनेछ । बाँकी ११८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौं र सातौं चरणमा मतदान हुनेछ । चुनावको मतगणना आगामी मे २३ मा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *