यात्रा स्मरणः टाइगरनेष्ट हाइकिङ
ठूला ठूला चट्टान । चट्टानमाथि कलात्मक गुम्बा । चौतर्फी हरियाली । उडेर पुगि पो हालौं कि । भुटानको ताक्साङ अर्थात् टाइगरनेष्ट मन्दिर । परबाट नियाल्दा ठ्याक्कै बाघ बसिरहेको आकार देखिन्छ । हेर्दा लाग्थ्यो कठिन यात्रा गर्नुपर्छ । तर, सोचेभन्दा सहज बाटाघाटा । बाटाभरि विभिन्न प्रजातिका विरुवाहरु संरक्षित । भर्खर कोपीला टुसाइरहेका । केही समयपछि आएको भए, रंगीचंगी जंगली फूलसँग साक्षात्कार गर्न पाइन्थ्यो । हिमाल पनि देखिएन । अवसर गुम्यो । तर, सपनाको मन्दिर नजिक भएकाले मन पुलकित थियो ।
वाह ! प्रकृतिलाई कति मजाले जगेर्ना गरेको । सय वर्ष पार गरेका र महत्वपूर्ण रुखका छेउमा तिनिहरुको विवरणसहित राखिएका थिए । अवलोकन गर्दै जाँदा हिँडेको पत्तै नपाइने । यसले पनि यात्रालाई सरल महसुस गरायो ।
null
टाइगरनेष्ट गुम्बा पहिलो पटक ईं.सं. १६९२ मा निर्माण गरिएको रहेछ । जहाँ आठौं शताब्दीमा तिब्बतका चर्चित गुरु पद्मसम्भव बाघमाथि बसेर यस स्थानमा आइ ३ वर्ष, ३ महिना, ३ हप्ता, ३ घण्टा ध्यान बसेको पौराणिक कथन सुनिन्छ । ३२०० मिटरको उचाइमा रहेको गुम्बा पुग्न करिब ४ किलो मिटर हिँड्नु पर्दछ । त्यहाँ पुगेपछि निर्वाणा प्राप्त भएको महसुस हुन्छ ।
सरासर हिँड्दा ४ घण्टामा गुम्बा पुग्न सकिन्छ । हिँड्न कठिन हुनेका लागि घोडालाई सवारीका रुपमा प्रयोग गर्न सकिन्छ । पथप्रदर्शक बिना गुम्बा जान अनुमति दिइदैन । भिसा लिएर आउने पर्यटकका साथमा प्रत्येक १० जना पर्यटकका लागि १ जना पदप्रदर्शकको व्यवस्था गर्नैपर्ने प्रावधान रहेछ । भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका नागरिकलाई भिसाको आवश्यकता पर्दैन रहेछ ।
भिसाको आवश्यकता नपर्ने देशका पर्यटकले पनि त्यहाँतर्फ पुग्न अनुमति लिनैपर्ने व्यवस्था छ । प्रत्येक पर्यटकलाई पथप्रदर्शकले लिएर गुम्बातर्फ लम्किरहेका थिए । स्थानीय साथी रिन्छेनले नै हामीलाई पथप्रदर्शन गरिरहेका थिए । हामी पनि प्रकृतिसँग रमाउदै रिन्छेनलाई पछ्याइरहेका थियौं । हामीलाई आतिथ्यता गर्न पाउँदा रिन्छेन पनि दङ्ग थिए । एक मिनेट पनि उसले हामीलाई आँखाबाट ओझेल हुन दिएन । आतिथ्यतामा भुटानीको प्रतिष्पर्धा सायदै हामी गर्न सक्छौं होला र ।
पथप्रदर्शक अर्थात् गाइड बन्न करिब ७ महिनाको कक्षा लिनुपर्ने रहेछ । त्यसपछि पर्यटन विभागले परीक्षा लिन्छ । परीक्षामा पास भएमात्र गाइडको लाइसेन्स दिइन्छ । कक्षाको अन्तरालमा भुटानमा आउने पर्यटकलाई गर्नुपर्ने व्यवहार, गाइडसँग हुनुपर्ने क्षमतालाई निखार्ने कार्य गरिँदोरहेछ । उनीहरुलाई कक्षा अवधिमा भुटानको सुरुवाती कालखण्डदेखि अहिलेसम्मको अवस्थाको अध्यापन गराईंदो रहेछ । गाइडहरु अनिवार्य रुपमा आफ्नो देशको पर्यटकीयस्थलका इतिहासमा पोख्त हुनैपर्ने रहेछ ।
टाइगरनेष्ट जानका लागि बिहान ६ बजे उठेर तयार भयौं । करिब १५ मिनेट गाडीको यात्रा गरेपछि बेसक्याम्पस पुगेर गाडी पार्किङ गर्यौं । उकालो लाग्यौं । बाटाभरि सयौं फोटाहरु खिच्न भ्यायौं । साथी रिन्छेनले प्रत्येक बोटबिरुवाको बारेमा जानकारी गराउँदै अघि बढ्दै गयौं । उकालो चढ्दा जाँदा श्वास फुल्यो । धड्कन बेगले धड्कियो । एकैछिनमा बादल लागेर चिसो हुन्छ । अलिक डाँडामा उक्लिदा घाम देखिन्छ । न्यानो महसुस हुन्छ । जति गुम्बाको नजिक पुगिन्छ त्यति थकान मेटिदै जान्छ । बाटामा रहेका अग्ला थुम्कीहरुमा बौद्धिष्ट मन्त्र लेखिएका रंगीन ध्वजाहरु टाँगिएका छन् ।
हावाको वेगले फरफराउदा सितल महसुस हुन्छ । ध्वजामा भएका मन्त्रहरु जति हावाले फरफराउछ सबैलाई आर्शिवाद प्राप्त हुन्छ भन्ने मान्यता रहेछ । आधा बाटोमा एउटा क्याफे भेटियो । तातो कफी र खाजा खायौं । चिसोमा कफीले संजिवनीको काम गर्यो । त्यहाँबाट पनि गुम्बा प्रष्टै देखिन्थ्यो । फोटो खिच्न छुटाएनौं ।
अलिक माथि पुगेर ‘पारो’ सहर नियालेर हेर्दा खाली जमिन देखिदैन । जत्तातत्तै बालिनाली । डाँडापाखामा पनि घना जंगल । बाटाछेउमा हरियाली । भुटानको जमिनमा ७० प्रतिशत वन रहेछ । बाटोमा कहिकत्तैं पनि एक छेस्को फोहोर फालिएका थिएन । जंगलभित्रका बाटो पनि घरको आगन जत्तिकै सफा । ‘सिभिक सेन्स’ त त्यहाँ पो देखियो । स्वच्छता र सौन्दर्यता भुटानको मुख्य आकर्षण रहेछ । भुटान सरकारले ‘क्वान्टिटी होइन, क्वालिटी टुरिष्ट’ भन्ने थिममा काम गरिरहेको छ । यसैले भिसा लिएर आउनुपर्ने देशका प्रत्येक पर्यटकले अनिवार्य रुपमा दैनिक २ सय ५० डलर ट्राभल एजेन्सीलाई भुक्तानी गर्नैपर्र्ने नियम छ । पर्यटन व्यवसायिकरण भएको छ । सायद यसैले पनि भुटानको सौन्दर्यीकरण मजबुत बनेको होला । कहिँकतै प्रदुषणको निसाना छैन ।
मन्दिर नजिकै एउटा लामो छाँगो देखियो । छागो मुन्तिर पुल । त्यहाँ पुगेपछि नरोकिने कोही थिएनन् । एकछिन छाँगोको पानीको छिटामा रमायौं । गुम्बा पुग्न हतार भयो । अघि बढ्यौं । एकैछिनको उकालो चढेपछि गुम्बा पुग्यौं । निकै तिर्खा लाग्यो । रिन्छेनले गुम्बा छेउको कुवाबाट डुप्छु भन्दै ल्याएर दिए । शुद्ध पानीलाई डुप्छु भनिँदो रहेछ । डिप फ्रिजमा राखेको भन्दा पनि चिसो । सबैले पालैपालो पानी पियौं । सुरक्षाको राम्रो प्रबन्ध रहेछ । गुम्बाभित्र छिर्नअघि क्यामेरा, मोबाइल, झोला र प्रतिबन्धित सामाग्री लकरमा राख्नु पर्ने रहेछ । भित्र फरक फरक करिब ७ वटा मन्दिरहरु थियो ।
मन्दिरभित्र विभिन्न शैलीका ठूला ठूला बुद्धका, रिम्पोछेका मुर्तिहरु राखिएका । भित्ताहरु कुनै खाली थिएनन् । कतै बौद्धिष्ट सम्प्रदायका विभिन्न क्रियाकलापहरु कुदिएका । कतै थान्कामा चित्रकला प्रस्तुत गरिएका । बेजोड वास्तुकला । सबै गाइडले आफ्ना पर्यटकलाई प्रत्येक कलाको बारेमा स्पष्ट जानकारी गराइरहेको दृष्य देखिन्थ्यो । त्यहाँ पुग्ने प्रायः सबै केहीबेर मेडिटेसन गर्न रुचाउँदा रहेछन् । हामी पनि केहीबेर ध्यानमा बस्यौं । साथी रिन्छेनले हामीलाई बुद्धिष्ट संस्कार संस्कृतिको बारेमा प्रायः सबै जानकारी गराए । बुद्धिष्ट संस्कारमा चासो राख्ने जो कोहीले पनि एक पटक पुग्नै पर्ने गन्तव्य रहेछ टाइगरनेष्ट ।
मन्दिर दर्शनपछि ढुंगाको एउटा गुफाभित्र पस्यौं । गुफाभित्र बाघ बस्छ भन्ने मान्यता रहेछ । कोही बाहिर निस्कँदै थिए त कोही भित्र पस्न पालो पर्खिरहेका थिए । हामी पनि पालैपालो गर्दै गुफाभित्र पस्यौं । अंध्यारो गुफा । भित्र पस्न डराइ–डराइ छिरे । दुई जना व्यक्ति ओहोरदोहोर गर्न सक्ने ठाउँ रहेछ । दुइ ढुंगाबिचमा मान्छे छिर्न मिल्ने गरी ढोका जस्तो बनेको रहेछ । त्यहाँबाट तल हेर्दा सिधा खाल्डो देखिन्छ । ‘हाइट फोयिबा’ हुनेहरु आत्तिन्छन् । वनको बाघले खाए नखाए नी मनको बाघले खान्छ भने जस्तै । म आत्तिएर चिच्याए । डरले तल हेर्न सकिन । नेपालको मान्छे यस्तो डराउँदा रहेछन् है भन्दै सबैले जिस्काए । एकछिन हाँसो फैलियो ।
भुटानको पारोमा रहेको टाइगरनेष्ट पर्यटकका प्रमुख रोजाइ रहेछ । भुटान पुगेर त्यहाँसम्म पुगिएन भने भुटानको भ्रमण अधुरो हुन्छ भन्ने लाग्यो । सरकारको वार्षिक कार्यक्रमका रुपमा मनाइने लालीगुरास महोत्सवको निमन्त्रणालाई स्विकार्दै कार्यक्रममा सरिक हुन भुटान पुगेकी हुँ । ३ दिने कार्यक्रमपश्चात थप केही दिन अध्ययन अवलोकनका लागि थपेर बसेको थिए । जीवित कला र संस्कृतिको संग्रहालय रहेछ भुटान । पर्यटनमात्र नभएर नजिकबाट बुद्धिष्ट कला, संस्कार, संस्कृतिलाई बुझ्ने मौका मिल्यो । भुटानको बसाइ अद्भूत रह्यो ।