श्रमिक दिवसले निको पार्ला बाबुका काँध थाप्न विदेशिएका युवाको पीडा ?
बैशाख १८, काठमाडौं । आज मे १ । अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामका लागि युरोप र अमेरिकाका श्रमिकहरुले गरेको संघर्षले श्रमिकहरुको जीवनको काँचुली फेरेको दिन पनि हो आज । श्रमिकको उत्सवको रुपमा पनि लिइन्छ आजको दिनलाई ।
श्रमिकहरुको हक अधिकार सुनिश्चित भएको दिनको सम्झनामा बुधबार विश्वभर १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।
null
तर नेपालमा भने सन् १९६३ देखि श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।नेपालमा पनि आज मजदुर दिवस सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । आज सार्वजनिक बिदा पनि दिइएको छ ।
विश्वमा कोरिया, अमेरिका, युरोपलगायत पश्चिमा देशहरूले कामदार तथा श्रमिकलाई अत्यन्तै रिझाएर काम दिएका हुन्छन् । उनीहरूको खानपान निजहरूको जीवनशैली र कामदारप्रति गरिने व्यवहार उच्च सम्मानका साथ पहिलो प्राथमिकतामा राखिन्छ । कुनै कामदार अथवा श्रमिकमाथि ज्यादती भए तत्काल सम्बोधन गरिन्छ । आफ्नो देशको ऐनअनुसार कामदारमाथि प्रतिरक्षा गरिन्छ ।
नेपालमा भने श्रमिकलाई देशका सबैभन्दा तल्लोस्तरका व्यक्तिका रुपमा लिने गरिन्छ । नेपालमा श्रमको शोषण गर्ने चलन अझै पनि कायमै छ । मजदुरलाई अवहेला गर्ने गरिन्छ ।
नेपालको संविधानको धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने उल्लेख गरिएको छ । साथै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा योगदानमा आधारित सामाजिक सुरक्षाको हक, कानुनबमोजिम ट्रेड यनियन खोल्ने, त्यसमा सहभागी हुने तथा काममा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ भनिएको छ । तर यस्ता कुनैपनि हक अधिकार पाएका छैनन् नेपालीले ।
आज कामदारमाथि जतातै शोषण विभेद देखिन्छ । चाहे निजी संघ/संस्थामा काम गर्ने शिक्षक/शिक्षिका हुन्, अथवा सामान्य मजदुरी गरी लालाबाला हुर्काउने ती आमाहरू हुन् । के उनीहरूले पुरुष सरह सेवा सुविधा पाइरहेका छन् त ? के निजी संघ/संस्थामा काम गर्ने ती बोडिङ स्कुलका गुरु/गुरुआमाले भने बमोजिमको ज्याला पाएका होलान् त ? अझ भनौँ भने स्वास्थ्य तथा पत्रकारिता जगतमा कलम चलाएर आफ्नो घर गृहस्थी चलाउने श्रमजीवी पत्रकारहरूले समयमै र उचित तलबभत्ता पाएका होलान् त ? छैनन्, अझै पाएका छैनन् । संघर्षमै छन् मजदुरहरु ।
हामीले देख्ने गरेका छौँ, विभिन्न इँटाभट्टीमा स–साना भाइबहिनीहरू काँचो माटोसँग काँचो जीवन साटिरहेका हुन्छन् । द्वन्द्व पीडित तथा बाबुआमा गुमाएका र बाबुआमाका गल्तीका कारण सानैमा गाडीको ढोका समात्न पुगेका बालकहरूलाई साँच्चै गाडी साहूले भने जस्तै तलबभत्ता दिन्छन् होला कि नाइँ ? पढ्ने, खेल्ने उमेरका बालकलाई मजदुरीमा लगाउनु उचित छ त ? बाल मजदुरका लागि कसले लडिदिने ? बालबालिकाको हकहितका लागि स्थापना भएका संघसंस्थाहरुले संरक्षण दिएका छन् त बाल मजदुरलाई ? छैनन् । नेपालमा कमै मात्र संस्थाहरुले जिम्मेवारीपूर्वक काम गरेको देख्न सकिन्छ । सरकारले बाल मजदुरी जरैदेखि निर्मूल पार्नु आवश्यक छ, ताकि उनीहरु भविष्यमा देशका कर्णधार बन्न सकुन् । देश बनाउन सकुन्, परिवर्तन ल्याउन सकुन् ।
श्रमिक दिवसको इतिहास यहाँसम्म आइपुग्दा पनि नेपालीहरु यही वेदनामा रुमलिएका छन् । कति नेपाली जनताहरु स्वदेशमा श्रमको उचित मुल्यांकन नहुने, तलब कमै मात्र पाइने भन्दै विदेशिन बाध्य भएका छन् ।
आफ्नी बुढी आमाको उध्रेको सपना पूरा गर्न, बाबुको काँध थाप्न, आफ्ना केटाकेटीको रहर पूरा गर्नका लागि विदेशिने युवाहरुले कसरी सम्झेलान् मजदुर दिवस ? त्यो चर्को घामको पीडा श्रमिक दिवसले निको पार्ला कि नाइँ ?
श्रम त त्यस्तो होस् जहाँ गरिन्छ त्यहाँबाट आफ्नो परिवार पाल्नका लागि केही भरथेग होस् । खुशीले जीवन बिताउन पाइयोस् ।
हालै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाकोषमार्फत् अब सरकारी कार्यालयबाहेक अन्यत्र कामकाज गर्ने व्यक्ति पनि निराश हुनु पर्दैन भनि काम गरेको संस्थागत कार्यालयबाट केही रकम कट्टा गरी नेपाल सरकारले त्यति नै बराबर थपि भोलिका दिनमा सरकारी कर्मचारी सरह पेन्सन दिने महत्वाकांक्षी योजना ल्याएको छ । यदि, यो लागू भएमा सानोतिनो इलम गरेर खानेका थालमा पनि माछामासु पर्न सक्ने सम्भावना रहन्छ । मजदुरले भोकभोकै सुत्ने दिन केही हदसम्म न्युनिकरण हुन सक्छ ।
सबै नेपाली नागरिकले श्रमिक हकको प्रत्याभूति पाई उपयुक्त रोजगारी छनोटको अवसर पाएमा पक्कै पनि श्रमिक दिवस मनाउनुको सार्थकता हुनेछ ।