राष्ट्रपति सवारी हुँदा सडकमा ‘विद्रोह ’ (भिडियोसहित)
काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नका लागि संघीय संसद नयाँबानेश्वर जादै थिईन् । सधैँ झै सवारी हुँदाको बेला ट्राफिक प्रहरीले सर्वसाधारणका सवारी रोक्दै राष्ट्रपतिको लागी बाटो खाली गरे । तर शुक्रबार साँझ जे भयो, त्यसलाई ट्राफिक व्यवस्थापन गर्नेहरुले मात्र हैन, उच्च राजनीतिक नेतृत्व तहले पनि गम्भीर रुपमा लिनुपर्छ । यसअघि सेना दिवसमा राष्ट्रपति शैनिक मञ्चबाट जाने र फर्कने क्रममा सर्वसाधारणले गरेको विद्रोह शुक्रबार पुनः दोहोरियो ।
यसअघि उनकै सवारीमा प्रतिकार भएकाले यसपटक सुरक्षाकर्मीको तैनाथीलाई बलियो पारिएको थियो । राष्ट्रपति जाने आउने समयभन्दा करिब ३० मिनेट अन्तराल पारेर बाटो बन्द गरिए पनि अघिल्लो पटकभन्दा ट्राफिकको व्यवस्थापनमा केही सुधार देखियो । तर आफ्ना सवारी लामो समय रोकेर बाटो खाली गरिएको आक्रोशमा सवारी चालकले हर्न बजाएर विरोध जनाए । किन राजा हटाएर स्थापित गरिएको राष्ट्रपतिविरुद्ध सडकमा यात्रुहरुले त्यो हदको ‘विद्रोह’ गरे । कारण पहिल्याउन जरुरी छ ।
null
‘अतिविशिष्ट र विशिष्ट व्यक्तिज्यूहरु अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर जाने कार्यक्रम रहेको हुँदा ट्राफिक व्यवस्थापनका दृष्टिकोणले १५ः३० बजेदेखि महाराजगंज – लाजिम्पाट – लैनचौर – केशरमहल – दरबारमार्ग – जमल – न्यूरोड – भद्रकाली – सिंहदरबार – माईतिघर – नयाँबानेश्वर सम्मका सडकहरु प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले बैकल्पिकमार्ग (महाराजगंज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो) प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरि दिन हुन अनुरोध गरिएको छ ।’ महानगरीय ट्राफिक प्रहरी कार्यालयले दिउसो १ बजे यो सूचना जारी गर्याे ।
‘अतिविशिष्ट र विशिष्ट व्यक्तिज्यूहरु’ को सवारी भनिएपनि खासमा राष्ट्रपति भण्डारीको सवारीको लागी मात्र बाटो खाली गरिने थियो । यसअघि राष्ट्रपति चीनको राजकिय भ्रमणमा जाँदा वा फर्कदा पनि ट्राफिक प्रहरीले बिषेश कारणबस भन्दै सूचना जारी गरेको थियो । जनताले चुनेका राष्ट्रपतिको सवारीको लागी जनतालाईनै सास्ती दिईएको भन्दै विरोध हुन थालेको छ । यसैले पछिल्लो समय राष्ट्रपतिको सवारीमा बाटो खाली गर्ने क्रममा ट्राफिक प्रहरीले राष्ट्रपतिको नाम नलिई बिषेश कारणबस वा ‘अतिविशिष्ट र विशिष्ट व्यक्तिज्यूहरु को सवारीका कारण भन्दै सूचना जारी गर्ने गरेको छ ।
शुक्रबार ‘अतिविशिष्ट र विशिष्ट व्यक्तिज्यूहरु’ भनिएपनि खासमा राष्ट्रपति सघीय संसद भवन नयाँ बानेश्वर जाने कार्यक्रम थियो । राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ । औपचारिक भ्रमणमा जान लागेको हो भने चाहिँ दुईतर्फीनै बाटो रोक्ने गरिन्छ । पहिल्यैबाट चलिआएको यो चलन अझै यसरी नै चलिरहेको छ । राष्ट्रपति संघीय सँसद भवन जाँदा अपरान्ह ४ बजेको थियो । यात्रुहरु गन्तब्यमा जाँदै थिए । बबरमहल वानेश्वर हुंदै राष्ट्रपति संघीय संसद भबनको दक्षिण गेटबाट प्रबेश गरिन् ।
राष्ट्रपतिको सवारीको लागी आफुहरुलाई घण्टौ जाममा राखिएको भन्दै सर्वसाधारण चालकहरुले आक्रोश पोखे । राष्ट्रपति संसद भवनको गेट पुग्नासाथ गेट अगाडी देखी लामो जाममा रहेका सवारी चालकहरुले हर्न बजाएर विरोध जनाए । राष्ट्रपतिको सवारी अवज्ञा गर्दै हर्न बजाएको भन्दै वानेश्वर चोकभन्दा तल केही मोटरसाईकल चालकलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिए ।
संसद भवनबाट राष्ट्रपति फर्कदा ६ बजेको थियो । साँझको बेला मानिसहरु घर फर्कदै थिए । राष्ट्रपतिको सवारीको लागी भन्दै सडक खाली गरिएको थियो । ३० मिनेटअघिदेखी ट्राफिक प्रहरीले सार्वजनीक तथा निजी सवारी बाटामो रोकेर राखेका थिए । काठमाडौँ हर्न निषेधित क्षेत्र हो । अनावश्यक हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्छ । दिनहुँ कारबाही भइरहेका विवरण ट्राफिक प्रहरीले सार्वजनीक गर्छ । तर आफुहरुलाई जाममा राखिएको भन्दै सडकमा जाममा रहेका सबैले विद्रोह स्वरुप हर्न बजाएर विरोध गरे ।
बिचरा ट्राफिक प्रहरी हर्न बजाउने चालकलाई रोक्न खोजेको देखियो । बानेश्वरमा एक दुई जना मोटरलाईकल चालकको चावी खोसेका थिए । तर सबैले हर्न बजाएपछि ‘विद्रोह’ रोक्न सकेनन् । मोटरसाइकलहरु सवारीका लागि रोकिएको ठाउँबाट एकपछि अर्को गर्दै हुरुरु कुदे । नागरिकको विद्रोहको अगाडी ट्राफिकको केही लागेन । विडम्बना यसबाट सत्तामा रहेकाले पाठ सिक्नुको साटो सवारी भीड कन्ट्रोल गर्न नसकेको भन्दै ट्राफिक प्रहरीलाई कारबाही गर्न बेर छैन । जनता भन्या रैती हुन् । ‘मेरो सवारी हुँदा यिनीहरुले सम्मान स्वरुप बाटो छोड्नु पर्छ ’ भन्ने सोच राष्ट्रपतिको छैन होला । उनको सवारी आवगमन तय गर्ने सरकारले हो । तर राष्ट्रपतिप्रतिको धारणा नकारात्मक बनाउँनको लागी प्रेरित गर्ने यस्तो नियम सरकारले किन बनायो ? अहिलेसम्म कसैले जवाफ पाएका छैनन ।