बेइजिङ भ्रमण सकेर ल्हासा पुगिन् राष्ट्रपति
बैशाख १७, काठमाडौं । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बेइजिङबाट ल्हासा पुगेकी छिन् ।
‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा सहभागी हुन चीन पुगेकी राष्ट्रपति भण्डारी कार्यक्रम समापन पश्चात् राजकीय भ्रमणका शिलशिलामा ल्हासा पुगेकी हुन् । उनी एयर चाइनाको विमानबाट ल्हासा पुगेकी हुन् ।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको भ्रमणको क्रममा ल्हासा पुगेकी राष्ट्रपति भण्डारीलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका छन्।
null
चीनको नौ दिने भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गरेका राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा पनि सरिक भएकी थिइन् ।
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि भइसकेको छ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी भएका छन् ।