यस पटक सगरमाथामा ७५ भन्दा बढीकाे सफलतापूर्वक आरोहण

 

जेठ ६, काठमाडौँ ।  विश्‍वको सर्वोच्च शिखर सगरमाथामा हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढीले सफलतापूर्वक आरोहण गरेका छन्। 

आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। 

null

विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्‍न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताए। “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ। 

यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,’-उनले भने। 

सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम-२ भन्दामाथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ। 

कामिरिता २४आऔ आरोहणमा 

वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो।आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनी २४औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लाग्नु भएको पर्यटन विभागले जनाएको छ। 

विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन। अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन्। सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ। 

मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो। कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ । आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ 

सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्। विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन्।यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन्। सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन्। 

यस याममा हिमाल आरोहणबाट करीब रु५० करोड सलामी दस्तुर जम्मा भएको छ।यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ। सीबी अधिकारी/रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *