जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु

बैशाख २६, ठिनी ।  पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्गको ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । 

 

आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

null

हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । २० वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चार–चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ । 

विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत अशोजमा नौ करोडमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताए । 

गत असारमा १५ महीनाको आयोजना भए पनि अबको दुई महीनाभित्र सम्पन्न गरिसक्ने उनले बताए । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा जहाज आउँदैनन् । 

विमानस्थल स्तरोन्नति भएपछि जहाज अवतरणमा सहज भई दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । हाल धावनमार्गको कालोपत्र उप्किएको, ग्रेगर निस्किएर खाल्डाखुल्डी परेकाले विमान अवतरण गर्दा समस्या हुने गरेको छ । पोखरा–जोमसोम हवाईमार्गमा समिट र तारा एयरका जहाजले दैनिक पाँच उडान भर्दै आएका छन् । पर्यटक र तीर्थयात्री ओसार्ने हेलिकप्टरको चाप पनि बढ्दो छ । रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *