कृषि विकास कार्यालयका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 

जेठ ९, पर्सा । कृषि विकास कार्यालय, पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र प्रसाद सिन्हासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत वीरेन्द्र, लेखापाल सत्यनारायण सहनी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगञ्जका सब–ईन्जिनियर राकेश कुमार महतो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) पर्सा सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरी, नितु कन्सट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

null

जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई (तरकारी जोन) पर्सामा नेपाल सरकारबाट प्राप्त रकम फर्जी बिल बनाई फर्जी समिति गठन गरी किसानहरुलाई अनुदान र सुविधा नदिई पुरै रकम भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ । 

तरकारी जोन, पर्साका सञ्चालक समितिका अध्यक्ष सहितका पदाधिकारीहरुको मिलेमतोमा प्रोत्साहन अनुदान रकम कृषक समूहहरुलाई कम दिई पछि सोही भर्पाईमा अंक थप गरी सच्याई बढी रकमको भर्पाई बनाई वास्तविक किसानहरुलाई अनुदान र सुविधा नदिएको अख्तियारले जनाएको छ । 

‘पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र प्रसाद सिन्हा र लेखापाल सत्यनारायण सहनीले मिलेमतोमा आर्थिक वर्ष २०७४/०७५ सालको बजेटबाट कार्यालय प्राङ्गणमा निर्माण तथा मर्मत कार्यहरु गर्दा लागत अनुमान टुक्रयाई निर्माण व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सिमित हुने गरी टुक्राटुक्रा पारी कोटेशनबाट काम गराई सार्वजनिक खरिद ऐन नियमावलीको विपरीत हुने गरी कार्य गरेको र सो कार्य सम्पन्न गर्नको लागि न्यून गुणस्तरको सामान प्रयोग गरी रंगरोगन गरेको साथै प्राविधिकबाट चेक भएको गराई ठेक्का सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन र नापी किताब बदनियतपूर्वक नक्कली, झुठ्ठा बनाई सोही आधारमा भुक्तानी दिइएको छ’, अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगञ्जका सब–ईन्जिनियर राकेश कुमार महतोले डिभिजन कार्यालय पर्साको नक्कली किर्ते लेटर हेडमा नक्कली किर्ते छाप बनाई, नपाएको ओहदाको पद (इन्जिनियर) भएको भनी दस्तखत तथा छाप किर्ते गरी कार्यसम्पन्न प्रतिवेदन बनाएको खुल्न आएको छ । 

यसैगरी रामेश्वर महतो कोइरीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गर्दा वदनियतपूर्वक भर्पाईमा अंक थप्ने, सच्याउने एवं कम रकम वितरण गरी सरकारी रकम हिनामिना गरेको, सन्नी यादवले कार्यालय प्रमुख वीरेन्द्र प्रसाद सिन्हासमेतसँग मिलेमतोमा लागत अनुमान, कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजातमा डिभिजन कार्यालय पर्साको हेडर र छाप प्रयोग भएको नक्कली कागजातहरू तयार गर्ने र सो का आधारमा भुक्तानी लिने गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए । 

अधिकृत सिन्हासहित ६ जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को कसुर गरेको प्रमाणबाट पुष्टि भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

  

  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *