नयाँ शक्ति र फोरमको मिलनबाट जन्मिदै छ ‘समाजवादी पार्टी’

वैशाख २२, काठमाडौं । ‘संमृद्धि संभव छ हाम्रै पालामा’, ‘अबको निकास आर्थिक विकास’ भन्दै आक्रमक प्रचार गरेर डा. बाबुराम भट्टराईले जन्माएको नयाँ शक्ति पार्टी स्थापनाको तीन वर्षपनि पुरा नहुँदै विलिन हुने भएको छ । आउँदो जेठ ३० गते नयाँ शक्तिले तेस्रो वर्षगाँठ मनाउन नपाउँदै उपेन्द्र यादवको संघिय समाजवादी फोरमसँग एकता गर्दै अर्को पार्टी जन्मिदैछ । 

तत्कालिन नेकपा माओवादीकै विचारधाराबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादवसँग मिलेर डा. भट्टराईले ‘समाजवादी पार्टी नेपाल’ गठन गर्ने भएका हुन् । हिजो औपचारिक रुपमा विज्ञप्ति जारी गर्दै भट्टराई र यादवले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम विच एकता गरेर ‘समाजवादी पार्टी नेपाल’ जन्माउने निर्णय भएको सार्वजनिक गरेका हुन् । 

 

null

यस अघि नेकपा एमाले र नेकपाविच एकीकरण भएर जन्मिएको नेपाल कम्युनिष्ट पार्टीमा दुई जना अध्यक्ष (प्रचण्ड, केपी ओली) हुँदा खिसिटिउरी गरेका डा. भट्टराई पनि उपेन्द्र यादवलाई अध्यक्ष मानेर नयाँ पार्टी गठन गर्दैछन् । 

गठित पार्टीमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै जना पार्टी अध्यक्ष हुनेछन् । भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने छन् । नेताहरुका अनुसार संघीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकार हुनेछ । 

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य (नयाँ शक्तिको १५१ र फोरमका २०० बढी) हुने बताइएको छ । संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ । 

पार्टी एकता घोषणा कार्यक्रम भोली २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सरकारमा रहेको फोरमसँग प्रतिनिधिसभामा १६ सांसद रहेका छन् । यता नयाँ शक्तिमा भने डा. बाबुराम भट्टराई एक्ला सांसद हुन् । 

नेकपा माओवादीबाट बाहिरिएर नयाँ शक्ति जन्माएका डा. भट्टराईले नयाँ शक्तिलाई भने अनुसार बलियो बनाउन सकेनन् । प्रतिनिधिसभा, स्थानीय निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोरेपछि विरक्तिएका डा. भट्टराईले त्यसबेला देखि नै अर्को शक्तिसँग एकीकरण गरेर भएपनि राष्ट्रिय राजनीतिमा आउने योजना बुनेका थिए । 

माओवादी र प्रचण्डको राजनीतिलाई सिध्याउने योजना सहित युवाहरुलाई समेटेर गठन गरेको नयाँ शक्तिले निर्वाचनमा पानी समेत माग्न पाएन । स्कुल कलेजमा सधैं फस्ट ब्वाइ रहेका नेपाली राजनीतिमा बौद्धिक नेता भनेर कहलिएका डा. भट्टराईले नयाँ शक्तिलाई चैं हाक्न सकेनन् ।  

नेकपा एमाले र माओवादीको एकतामा डा. भट्टराईले सार्वजनिक रुपमै प्रचण्डले माओवादीलाई एमालेमा विलय गराएको, प्रचण्डको राजनीतिक धरालत समाप्त भएको टिप्पणी गरेका थिए । तर, त्यसको दुई वर्ष पनि नपुग्दै उनले आफ्नै पार्टीलाई समाजवादी फोरमसँग एकता गराउन पुगे ।  

अहिले कम्युनिष्टहरुले डा. भट्टराईको राजनीतिक धरातल सकिएको विष्लेषण गर्न थालेका छन् । कतिपयले भट्टराईसँग राजनीतिक सिद्धान्त नै नभएको ठहर गर्दै सत्ताका लागि नयाँ शक्तिलाई मसानघाट पुर्याएको तर्क गर्न थालेका छन् ।  

‘डा. भट्टराईले तत्कालिन माओवादी त्याग्नु नै उनको राजनीतिक धरातल सकिने कारण थियो । १० वर्षको जनयुद्ध र त्यसबाट प्राप्त राजनीतिक आधारलाई त्यागेर त्यसैलाई समाप्त पार्ने योजना गर्नु ठिक थिएन ।’ एक बाम विश्लेषक भन्छन्–‘हेर्दै जाउँ अझै कति वटा सँग डा. भट्टराईले एकता गर्ने हुन् ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *