काठमाडौंमा एकै दिन १० ठाउँमा बम पड्काउने विप्लवको योजना

काठमाडौं, १३ जेठ । आइतबार एकैदिन काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना रहेको खुलेको छ । तीन ठाउँ विस्फोट र शृंखलाबद्ध रूपमा प्रेसरकुकर बम फेला परेपछि प्रहरीले पक्राउ गरेका आठ जना विप्लव कार्यकर्ताबाट उक्त योजना खुलेको हो ।यसको सुरूआत अपराह्न साढे ४ बजे सुकेधाराको एउटा सैलुनबाट भयो, जहाँ सिलिन्डर बम विस्फोटमा परेर महोत्तरीका ५९ वर्षीय जीवकुमार ठाकुरसहित तीन जनाले ज्यान गुमाए । दुई जना गम्भीर घाइते भए । यो घटनामा विप्लव माओवादीको भ्रातृ संगठन नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित केही घाइते भएको प्रहरीले जनाएको छ । 

सुकेधारामा बम पड्केको हल्लाखल्ला सेलाउन नपाउँदै केही मिनेटमै अनामनगर, घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको घरबाटै विस्फोटको आवाज आयो । त्यहाँको एउटा कोठामा अर्को सिलिन्डर बम पड्कँदा एक जनाको मृत्यु भयो भने एक जना घाइते भए । ज्यान गुमाउने प्रज्वल शाही विप्लव माओवादी निकट रहेको प्रहरीले जनाएको छ । घाइते रविन केसी पनि त्रिचन्द्र कलेजमा पढ्ने विप्लवनिकट विद्यार्थी नेता हुन् ।तेस्रो विस्फोटन राति ८ बजेतिर नागढुंगामा भयो । चन्द्रागिरीस्थित आदिनारायण इँट्टाभट्टामा आफैंले बोकेको बम पड्कँदा विप्लव माओवादीका दुई जना कार्यकर्ता गम्भीर घाइते भए । घाइते हुनेमा चन्द्रागिरी ३ का विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएको प्रहरीले बताएको छ । घाइतेको सहिद मेमोरियल अस्पताल कंलकीमा उपचार भइरहेको छ ।घटनास्थलबाट प्रहरीले दुई थान मोबाइल र तीन थान सिम बरामद गरेको थानकोट प्रहरी वृत्तका प्रहरीले जनाएको छ । यसरी चार जनाको ज्यान जाने र पाँच जना गम्भीर घाइते हुने गरी भएका तीन विस्फोटनसँगै आइतबार साँझ काठमाडौं र पाटनका विभिन्न ठाउँमा शृंखलाबद्ध रूपले प्रेसरकुकर बम फेला परे । राति पौने ८ बजेतिर नागढुंगामा बम पड्कनुअघि मात्र ललितपुरको लगनखेलस्थित बसपार्क र ग्वार्कोमा बम भेटिएका थिए ।नयाँ प्रेसरकुकर सडकमा देखिएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । त्यसपछि ९ बजेतिर सानेपामा अर्को बम भेटियो, जसलाई सेनाले डिस्पोज गर्यो । यति मात्र होइन, राजधानीमा बम विस्फोट गर्ने तयारी अवस्थामा रहेका बेला नरेफाँटबाट चार प्रेसरकुकरसहित आठ जना विप्लव कार्यकर्ता सशस्त्र प्रहरी बलको गस्ती टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापाका तेजराज काफ्ले, आशिष तामाङ, डम्बर तामाङ, सल्यानका चित्रबहादुर ओली, भक्तपुरका राकेश श्रेष्ठ, बुद्धिबहादुर सुनार, रोल्पाका बुद्धिलाल पुन र तेजबहादुर मुक्तान छन् । उनीहरूलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ । विप्लव माओवादीका यी आठ जना कार्यकर्ता पक्राउपछि काठमाडौंमा एकैदिन १० ठाउँमा बम पड्काउने योजना खुलेको हो । उनीहरूले काठमाडौं र भक्तपुरका केही स्थानमा बम पड्काउने जिम्मा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।बम ओसार्ने क्रममा पक्राउ परेपछि उनीहरूको योजना असफल भएको एक प्रहरी अधिकारीले जानकारी दिए । गृहमन्त्री रामबहादुर थापाले तीनवटै सुरक्षा प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । उनले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *