आतंकको झिल्को नफैलियोस् -सम्पादकीय

 

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले राजधानीका विभिन्न ठाउँमा आइतबार शृंखलाबद्ध विस्फोट गराउँदा ४ जनाको मृत्यु भयो । साथै ७ जना घाइते भए । घट्टेकुलो, सुकेधारा र थानकोटमा विस्फोट गराइएका हुन् । सुकेधारा र घट्टेकुलो मात्र होईन, आईतबार साँझ र सोमबार देशैभरी बम आतंक फैलियो । ललितपुरको लगनखेलस्थित बसपार्क, सानेपा, ग्वार्को लगायतका ठाउमा बम भेटिए । यसले जनजीवन त्रसित भयो । 

प्रहरी कारबाहीका क्रममा भोजपुरमा गोली लागी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा सोमबार बन्द आह्वान गरेको विप्लव समूहले त्यसैका लागि आतंक फैलाउन विस्फोट गराएका हुन् । विस्फोटका घटनालगत्तै गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बस्यो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायलाई कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए । देशैभरको सुरक्षा व्यवस्थामा थप कडाई गरिएको भनिएपनि राजधानीसहित देशैभर भएका विष्फोटले आम नागरिक त्रसित छन् । विगतमा १० बर्षसम्म कहालिलाग्दो गृहयुद्ध भोगेका नेपाली नागरिकहरु पुनः अर्को द्वन्द्व दोहोरिने त हैन भन्नेमा संशकित छन् । 

null

पछिल्लो समयमा राजनीतिक शक्तिबीच बढ्दै गएको ध्रुवीकरणले द्वन्द्वको अवस्था सृर्जना भएको देखिन्छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले तीव्र पारेको हिंसात्मक गतिविधिले मुलुक अब पुनः द्वन्द्वतर्फ धकेलिन्छ की भन्ने त्रास बढेको छ । मुलुकका विभिन्न स्थानमा गराएको विष्फोट र आतंकले मुलुक फेरि अर्को आन्तरिक कलहमा फस्ने त होइन भन्ने गम्भीर प्रश्न खडा भएको छ । 

विप्लव समुह हालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै एक अशं हो । द्वन्द्वरत तत्कालिन माओवादीको मूल नेतृत्व संविधानसभाको बाटोबाट शान्ति र संविधानका लागि भनेरै शान्तिप्रक्रियामा आएको थियो । माओवादी आन्दोलनमा अस्वाभाविक प्रकारको विशृंखलता, विकृति देखा पर्ने क्रमसँगै सो पार्टी विभाजित भयो । पहिलो संविधानसभा विगठनपछि आमविद्रोहद्वारा सत्ता कब्जाको नारा दिएर भित्रभित्र मोहन बैद्य, रामबहादुर थापा, विप्लवलगायतका नेताहरुले छुट्टै पार्टी गठन गरे । छुटिएर बनेको नयाँ पार्टी समेत नेतृत्वदेखि व्यवस्थापनसम्म चरम असमानताबाट गुज्रियो । एउटा सानो तप्का अस्वाभाविक रूपमा वैभवशाली बन्यो । त्यसबाट सिर्जित असन्तोषको उपज विप्लवले छ्ट्टै समुह गठन गरेका हुन् । 

राजधानीमा आईतबार भएका बिष्फोट विप्लव समुहले आफ्ना कार्यकर्ता गिरफ्तारी गरेको विरोधमा गराएको भनिएको छ । सो समुहलाई सरकारले प्रतिबन्धित घोषणा गरेसँगै आक्रोशित हुँदै हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । उदार लोकतन्त्रमा सहभागिता र प्रतिनिधित्वको लोकतन्त्रीकरण हुन्छ । जहाँ कानुन अन्तर्गत नागरिक स्वतन्त्रताको व्यवस्था हुन्छ, तर आम मानिसलाई आफ्नो उपस्थिति देखाउन वा जनाउन हिंसाको सहारा लिने अधिकार हुँदैन । 

इतिहास साक्षी छ, विगतमा पनि हतियारका आडमा राजनीतिक परिवर्तन भएका छन् । तर, सामाजिक, आर्थिक तवरले जनताको जीवनमा भने सुधार आउन सकेको छैन । हतियारको राजनीति गरेर उदाएका नेताहरूबाट समाज रूपान्तरण हुन नसक्ने रहेछ भन्ने प्रमाण नेपाल आफैँ हो । त्यसैले हतियारका भरमा राजनीति गर्ने तत्कालीन माओवादी हालको सत्तारुढ दल र वर्तमान विप्लव समूह लगायतका सबै अतिवादीकै विभिन्न रूप हुन् । जब सत्तामा बस्नेहरू नै हतियारको राजनीतिबाट उदाएका नेता हुन्छन् तब लोकतन्त्र, नागरिकका मौलिक अधिकार र समग्र विकासको अवधारणालाई पनि शक्तिकै वरिपरिबाट व्याख्या गर्ने प्रवृत्ति हावी हुन्छ । यस परिदृश्यमा विप्लव समुहलाई ‘लुटेरा समूह’ घोषित गर्दै प्रतिबन्ध लगाएर सरकारले जति दबाउन खोज्छ त्यति नै उसको विद्रोह चुलिन्छ । 

त्यसैले विप्लव समुहमाथीको प्रतिबन्ध फुकुवा गरी, वार्ता र संवादको माध्यमबाट निकास खोज्नु आजको आवश्यकता हो । प्रतिबन्ध फुकुवापछि सो समुहलाई विभिन्न बहानामा हिंसाको साहारा लिने स्थिति अन्त्य हुनेछ । सरकारले यसमा ढिलाई गरेमा थप दुर्घटना हुने निश्चित देखिन्छ । देशमा शान्ति, स्थिरता र समृद्धि चाहने हरेक नागरिक चनाखो हुन ढिलाइ भइसकेको छ । यसैले सबै खाले अतिवादबाट मुक्तिको मार्ग रोजौं, निषेध होइन संवाद मार्फत समाधानका लागि गम्भीर बनौँ । अहिलेको हिंसात्मक द्वन्द्व निस्तेजमा सबै गम्भिर बनौँ । आतंकको भिल्कोमा सबै मिलेर पानी हालौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *