जुम्लाकाे कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम

 

जेठ १०, जुम्ला ।  जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । 

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । 

null

जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ । पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी रोपाइँमा जागरण आएको छ । 

निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । 

रोपाइँको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ । कृषकले एकअर्काको रोपाइँमा रोपारे, हली र गोरुसहित ऐँचोपैँचो दिने चलन छ । हरेक किसानले रोपाइँको मिति अगाडि नै तोकेका हुन्छन् । 

चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठ महीनाको पहिलो साताबाटै रोपाइँ शुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । यसैगरी कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भित्र्याउने समय तालिका हुन्छ । 

यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ । विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ । यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोपाइँ गर्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ । 

कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ । यहाँको रैथाने कालीमार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्याङ्क रहेको उनले बताए । 

कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिस गरेको चन्दननाथ–१ र चन्दननाथ–३ नामको उन्नतजातको धान रोप्ने गरिएको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *