विप्लवजी, जनता सिध्याउने यो कस्तो राजनीति हो तपाईंको ?
अचेल तपाईंको नाम सुन्दा पनि थर्कमान हुन थालेका छौँ विप्लव जी । लगलग शरीर काप्छ । भतभत मुटु पोल्छ, अनि दिमाग पनि तात्छ बेलाबेलामा । कहिलेकाहीँ त तपाईं नेपाली जनताको ‘यमराज’ पो की जस्तो पनि लाउँछ, ज्यान जो लिनु हुन्छ बम पड्काएर ।
बाटोमा हिँड्दा पनि डर लाग्छ अचेल त । कतै तपाईंको बमसँग ठोक्किने पो हो कि ! गाडीमा चढ्दा पनि मन थिरमा हुन्न, कतिबेला बम प्रहार हुने हो ठेगान भए पो !
null
हामी नेपाली जनता त डरै डरमा बाँचेका छौँ विप्लव जी । खै के सुनाऊँ तपाईंलाई । बेलुका चोरको डर । बिहान–दिउँसो बमको डर । अचेल त हत्या पनि बढेका छन् । दुर्घटना पनि उत्तिकै । ठिक छ, भैपरि आउने दुर्घटनाको त सामना गरौँला नि ! मृत्यु कसले देख्या छ र ? कतिबेला आउँछ पत्तो हुने पनि होइन । तर यसरी नियोजित रुपमा मारिनु पर्दा बडो दुःख लाग्छ विप्लव जी ।
पहिले त नेपाली हुनुमा निकै गर्व लाग्थ्यो । वीर गोर्खालीका सन्तान भनेर विश्वमा चिनिएका थियौँ । मदन भण्डारी, वीपी कोइराला जस्ता जनताको भलो चिताउने, जनताका लागि लड्ने नेता थिए । टुक्रिएका राज्यलाई सिंगो देश नेपाल बनाउने पृथ्वी नारायण शाहलाई गौरब मान्थ्यौं । शान्तिका प्रतिक गौतम बुद्धको उपदेश पढ्थ्यौं । जनतालाई रिझाउने राजा वीरेन्द्र पनि थिए । तब नेपाली भन्दा छाती फुल्थ्यो । शिर ठाडा हुन्थे । दुनियाँ झुक्थे । अब त यीनीहरु सबै किताबका पानामा सिमित भए । मनमा त बम, बारुद, हत्या हिँसाले डेरा जमाए ।
अहिले त गर्व होइन, कुन जुनीको पापले नेपाली भइएछ जस्तो भान हुन थालेको छ । आफ्नै देशमा बस्न पनि ७ चोटी सोच्ने बेला आएको छ । जताततै हत्या, हिंसा, बलात्कार बढेका छन् । आफ्नैले गर्धन छिनाउन थालिसके । गरिबी ज्यूँका त्यूँ । बेरोजगारी उत्तिकै । अनि तपाईंको बम आतंक पनि । खै, कहिले शान्तिले बाँच्न पाउने हामी नेपालीले ?
ठिक छ, हामी दुःखमा बाँच्न सक्छौँ । बाँचेका पनि हौँ । र, बाँच्दै आएका पनि छौँ । तर हामी हिंसा, आतंक, ध्वंसात्मक गतिविधि सहन्नौँ विप्लव जी, याद राख्नुस् । यसरी बम हान्दैमा जनताले साथ दिन्छन् भन्ने सोच्नुभएको छ भने तपाईंको सोच गलत छ । दिन दहाडै निहत्था नागरिकको रगतमा होली खेल्दा क्रान्ति कहाँ हुन्छ ? १० वर्षको युद्धले तपाईलाई त्यत्तिपनि सिकाएन ? जनताको चाहना शान्ति हो भन्ने नबुझ्ने तपाईं कस्तो नेता ? कस्तो लिडर ? हामी नेपाली केवल शान्ति चाहन्छौँ । मात्र शान्ति ।
तपाईंमाथि केही अपेक्षा पनि नभएको होइन । थियो धेरै पहिले । अहिले त फिटिक्कै छैन । अचेल त ढोँगी लाग्छन् तपाईंका सिद्धान्त । खोक्रा लाग्छन् । अनि महामूर्ख लाग्छ तपाईं । तपाईमा दुरदृष्टि र मानवियता भइदिएको भए त भ्रष्टाचारी, दलालको टार्गेटमा निर्दोष जनता कसरी राख हुन्थे ? कस्ता ठाउँमा बम राख्दा जनता असुरक्षित हुन्छन् भन्ने ज्ञात छैन तपाईंमा ? अचम्म त के लाग्छ भने, तपाईंको पार्टीले बम पड्काउँछ । सर्वसाधारणको ज्यान जान्छ । अनि निकाल्नु हुन्छ विज्ञप्ति, माफी माग्दै । ज्यान गएपछि माफी माग्दै तपाईंले निकालेका विज्ञप्तिले फर्केर आउँछन् मरेका जनता ? फर्किन्छ शान्ति ? फर्किन्छ सिउँदोको सिन्दुर ? भरिन्छ आमाको काख ?
तपाईंको दुश्मनी त राजनीतिसँग भन्ने सुनेका थियौँ । द्वन्द्वकालमा एउटै थालमा खाएका सहपाठीहरु तपाईंका जानी दुस्मन थिए । रिस पोख्ने माध्यम चैँ हामी जनता किन ? तपाईंको रिसिइबीको धारमा हामी रेटिनुपर्ने ? तपाईंले पड्काएको बमले, तपाईंको बन्दले भ्रष्टाचारी, दलाल, तानाशाही कहिल्लै निशानामा परेनन् । चन्दा जो दिन्छन् । विहान खाएर बेलुकी के खाने अन्यौलतामा रहेका हामी जस्ता निमुखा जनताले तपाईलाई के नै पो दिन सक्छौं र, त्यहि भएर हाम्रै मुक्तिको खातिर भन्दै हामीलाई नै बलिको बोका बनाउनु हुन्छ हैन ?
यस्तै रबैया हो भने तपाईंको बमले भ्रष्टाचारी होइन, जनता रित्तिन्छन् । हाम्रा सन्तान, आमा बुवा, रित्तिनेछन् । दाजुभाई सकिन्छन् । र, एक दिन देश नै रित्तिन्छ । जसको मुक्तिको खातिर बन्दुक पड्काउनु हुन्छ, बम र बारुद खेलाउनु हुन्छ तिनै जनता नभएपछि तपाईको सिद्धान्त र आदर्श कसले सुन्ला ? देश नै खोक्रो बनाउने, जनता सिध्याउने कस्तो राजनीति हो विप्लव जी तपाईंको ? कि जनताका कंकालमाथि राजनीति गर्ने सोच्नुभएको छ ? हामी जनता मरेपछि शान्ति फर्काउने हो देशमा ?
बेलाबेलामा प्रचण्ड जीले पनि झस्काउँदै हुनुहुन्छ हामी नेपाली जनतालाई । उस्तै परे जंगल जाने अरे उहाँ फेरि । लड्ने रे । अरे ! अब कसका लागि लड्ने हामी जनताका लागि कि आफ्ना स्वार्थका लागि ? हामीलाई के कमी छ र अब हाम्रा लागि जंगल गएर लड्नुपर्ने ? अब के आफैंले ल्याएको लोकतन्त्र, गणतन्त्रविरुद्ध लड्ने ? हामी जे छौँ, ठिक छौँ । हामीलाई राजनीतिक लुँछाचुँडीमा सखाप पार्ने काम नगर्नुस । हामीले राजनीतिक अधिकार पाएर के गर्नु, सत्तामा पुग्ने तपाईहरु नै हो । अहिलेसम्म जे पाएका छौँ त्यसैमा सन्तुष्ट छौँ । अब रगतको खोलो बगाउनु छैन । अब मात्र शान्ति चाहिएको छ । मात्र देशको विकास चाहिएको छ । त्यो विकास जसले गर्दा पनि हुन्छ । तपाईले, उसले, हामीले जसले गर्दा पनि हुन्छ ।
पहिलेका युद्ध महशुस त गर्न पाएनौँ तर, बेलाबेला बाउ बाजेले द्वन्द्वकालका घटना सुनाउँदा आङ सिरिङ्ग हुन्छ । हामी अब त्यस्तो पीडा सहन सक्दैनौँ । हामी थाकिसक्यौँ । हामीलाई पुनः हज्जारौं दाजुभाई दिदीबहिनी गुमाउनु छैन ।
त्यसैले बिन्ती गर्छौं विप्लव जी, खुल्ला प्रतिस्पर्धामा आउनुस् । जनताको मन जित्नुस् । भ्रष्टाचारीलाई कायल बनाउनुस् । ठूला ठूला भ्रष्टाचार काण्डका भण्डाफोर गर्नुस् । गरिबी अन्त्य गर्नुस् । बेरोजगार युवालाई रोजगारी दिनुस् । विदेशीएका नेपालीलाई आफ्नै देशमा रमाउने सौभाग्य दिनुस् । अझ भनौँ त बलात्कारीलाई फाँसी दिने व्यवस्था ल्याउनुस् । नेपाली दिदीबहिनीले आँखा चिम्लिएर समर्थन दिनेछन् । जित तपाईंकै हातमा हुनेछ । सत्तामा आएर देश बदल्ने अवसर पाउनुहुनेछ ।
लोकतन्त्रमा जनमत भन्दा ठूलो अस्त्र कुनै हुँदैन । संसारका ठूल्ठूला बादशाहहरु जनताको अभिमत प्रति नतमस्तक भएका छन्, तपाई त ती तानाशाहका अगाडी सानो झिल्को मात्र हो । आज शक्ति र सत्तामा पुर्याउने जनताले भोली गलहत्याएर निकाल्न कुनै आइतबार पर्खनु पर्दैन । हातमा बम र बारुद छ भन्दैमा जथाभावी नपड्काउनुस, नखेलाउनुस । भोली तपाई तिरै फर्कन बेर छैन । उदाहरण त, हिजोको घटनाले पनि पुष्टि गर्दैछ नी !