सभापति देउवालाई नेता पौडेलले भने, ‘म भए के को चिन्ता ?’


जेठ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।
पटक पटक सभापति शेरबहादुर देउवाले महाधिवेशन टार्न चलखेल गरेकाे आरोप लगाउँदै आएका नेता पौडेलले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवालाई जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताएका हुन् ।
null
‘तपाईंको असहयोगले पार्टीमा विभिन्न समिति गठन गर्न नसकेको सभापतिको भनाइ छ नि’ भन्ने पत्रकारको जिज्ञासा मेटाउँदै वरिष्ठ नेता पौडेलले भने, ‘म जस्तोसुकै सहयोग गर्न पनि तयार छु, सभापतिलाई म भए के को चिन्ता ?’
मंगलबार नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले सभापति देउवा महाधिवेशन टार्ने चलखेलमा लागेको आरोप लगाएका थिए ।
नेता पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्नका लागि संगठनका सबै काममा ढिलासुस्ती गरिएको, पार्टीका भातृ संगठनको अधिवेशनमा आफ्नो पक्ष हार्ने डरले सभापति शेरबहादुर देउवाले नै महाधिवेशन रोकेको आरोप लगाएका हुन् ।
यस्तै उनले वर्तमान सरकारले जनतामा आश्वासन धेरै बाँडेको, समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख ।
उनले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी भएको पनि धारणा राखे ।
‘अर्काको कुरा सुनिदिएर अघि बढेको भए सरकारको गल्ती सुधार हुने थियो,’ नेता पौडेलले भने, ‘नसुध्रिने सरकारको नियत नै हो।’
