‘बारीका पाटा र खेतका गरा हुन्छन् सबै हराभरा’
बैशाख २०, काठमाडौं । सरकारले बाँझो निजी जमिन, सार्वजनिक खुल्ला क्षेत्रमा सूर्यमुखी, कपास, कागती लगायत खेती गर्न प्रोत्साहन गर्ने भएको छ ।
सरकारको तर्फबाट आर्थिक वर्ष २०७६र०७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपति सो कुराको जानकारी गराएकी हुन् ।
null
‘बाँझो नीजि जमिन, सार्वजनिक खुल्ला क्षेत्र, तथा खोला किनारामा किम्बु, रेशम, सूर्यमुखी, सजिवन, कपास, कागती, स्कुस र घाँस लगायतका खेती गर्न सर्वसाधारण व्यक्ति तथा समूहलाई प्रोत्साहित गरिने छ’, उनले भनिन् ।
यस्तै उनले कृषि तथा पशुपंक्षी कृषिजन्य प्रमुख खाद्यवस्तुहरुको उत्पादनमा तीव्र वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाइने, उच्च मूल्यका नगदे र बेमौसमी बाली उत्पादन गरी निकासी गरिने, सिञ्चित कृषि क्षेत्रको अभिवृद्धि, नेपालको समृद्धि भन्ने मुल नाराका साथ आगामी १५ औँ योजना अवधिभित्र कुल कृषियोग्य भूमिको ९० प्रतिशत भू–भागमा सिँचाई सुविधा उपलब्ध हुने गरी पूर्वाधारहरु तयार गरिने पनि जानकारी गराइन् ।
त्यसैगरी सरकारले ‘बारीका पाटा र खेतका गरा हुन्छन् सबै हराभरा’ भन्ने नाराका साथ पहाडी क्षेत्रका नदि छेउछाउका कृषि योग्य जमिनमा सौर्य उर्जा समेत उपयोग गरी लिफ्ट सिँचाई प्रणाली विकास गर्ने कुरालाई पनि योजनामा समेटेको छ ।