कुलमान भन्छन्– भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु

 

जेठ ७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । 

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा कार्यकारी निर्देशक कुलमानले प्राधिकरणभित्र आफूले भ्रष्टाचार गरेको ठहरिए झुण्डिएर मर्ने चेतावनी दिएका हुन् । 

null

बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही आरोपको खण्डन गर्दै उनले भने, ‘सांसद भन्दैमा जथाभावी आरोप लगाउन पाइँदैन । भ्रष्टाचार गरेको ठहरिए झुण्डिएर मर्न तयार छु ।’ 

सांसद मोदीले भने कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको पनि आरोप लगाए । उनले त्रिशूली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भन्ने प्रश्न उठाउँदै त्यसको तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरे । 

त्यस्तै अर्का सदस्य सरदसिंह भण्डारीले लोडसेडिङ अन्त्य भइसकेपछि पनि लोडसेडिङको बेलामा जस्तै विद्युत महसुल उठाइरहेको भन्दै त्यसले उद्योगी व्यवसायी मर्कामा परेको धारणा राखेका थिए । 

संघीय संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुलमा व्यवसायी र प्राधिकरणबीच देखिँदै आएको विवाद तथा ९ खर्ब १० करोड रुपैयाँ बराबर उठ्न बाँकी रहेको विद्युत महसुल बक्यौतासम्बन्धी बुझ्न सोमबार प्राधिकरणका उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलगायत कर्मचारीहरुलाई बोलाएर सोधपुछ गरेको हो । 

बैठकमा डेडिकेटेड फिडर र ट्रंकलाइनमा देखिएको विवादका विषयमा मन्त्रालयका सचिव घिमिरे, प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक, निमित्त कार्यकारी निर्देशकले जानकारी गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *