प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण फलदायी हुन्छ : डा. भट्टराई 

बैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका छन् । 

 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्धिपक्षीय सम्भावनाको खोजी गर्नमा पनि केन्द्रित हुने सुझाए । उनले भने,‘भियतनामसँग हाम्रो कुटनीतिक सम्बन्ध धेरै पूरानो हो । तर, यो बीचमा द्धिपक्षीय क्रियाकलापहरु सघन रुपमा हुन सकेका थिएनन् । भियतनाम दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र हो । द्वन्द्वपछि शान्ति कायम गर्दै स्थायित्व हाँसिल गरेको राष्ट्र हो । प्रधानमन्त्री ओलीको भ्रमणबाट हामीले लाभ लिन सक्छ।’ 

null

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सल्लाहकार भट्टराईले भियतनाम आसियानको पनि सदस्य राष्ट्र भएकोले प्रधानमन्त्रीको भ्रमणमा द्धिपक्षीय व्यापारको बारेमा पनि कुराकानी हुने स्पष्ट पारे । त्यस्तै, सांस्कृतिक पक्ष आदान–प्रदानमा पनि प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने भट्टराईले सुनाए । भियतनामका प्रधानमन्त्रीले पटक–पटक निमन्त्रणा दिएकोले प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उनले प्रष्ट्याए । 

भट्टराईले बहुंख्यक भियतनामी जनताले बुद्ध धर्म मान्ने भएकोले नेपालमा बुद्धिष्ट पर्यटकहरु भित्र्याउनको लागि पनि प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास दिलाए । उनले भने,‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । हामीले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदैछौं । त्यसैले धार्मिक पर्यटकहरु भित्र्याउनको लागि पनि यो भ्रमण फलदायी हुनेछ ।’ 

त्यस्तै भियतनाममा यही मे १२ अर्थात बैशाख २९ गते वैशाखी–डे मनाउने उक्त दिन अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकोले त्यसमा नेपालको प्रधानमन्त्री ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि भट्टराईले सुनाए । उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति, मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरु आउने कार्यक्रमसमेत रहेको उनले जनाए । 

त्यस्तै कम्बोडियाको प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएकोले प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उनले सुनाए । ‘कम्बोडियासँगपनि द्धिपक्षीय व्यापार लगानीको सम्भाव्यताबारे खोजी गरिनेछ–भट्टराईले भने,‘पछिल्लो समय कम्बोडियाले पर्यटनको विकासमा चमत्कार नै गरेको छ । नेपालले पनि कम्बोडियाको पर्यटन विकासबाट सिक्नुपर्छ ।’ प्रधानमन्त्रीको भ्रमणलाई लिएर विज्ञहरुले गरेको टिप्पणीप्रति बोल्दै उनले थाहा नभएकाहरुले नबोल्न सुझाए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *