संसदीय समितिले भन्यो– मेलम्चीको बाँकी काम तत्काल अघि बढाऊ
फाइल तस्विर
जेठ १ काठमाडौं । इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ ।
null
बुधबार सिंहदरबारमा बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिएको हो ।
समितिको बैठकले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न–गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने तथा स्वच्छ खानेपानीको अभाव हुन नदिन आवश्यक काम कारवाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
गत माघ २५ गते इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेपछि अन्तिम चरणमा पुगेको भनिएको आयोजनाको रोकिएको छ ।
सन् २००९ देखि चिनियाँ कम्पनीले सुरुङमार्ग निर्माणको काम थालेपनि समयमा काम सम्पन्न गर्न नसकेपछि २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।
सन् २०१३ सिएमसी दि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी काम सक्ने गरी सम्झौता भएको थियो । कम्पनीले भूकम्प र नाकाबन्दीपछि समयमा काम गर्न नसकेको भनेपछि सरकारले समय पनि थप गरेको थियो । पछि भने उसले आर्थिक रुपमा टाट पल्टिएको भन्दै काम गर्न नसक्ने बताएको थियो ।
सिएमसीले सिंगापुरमा भएको वार्तामा काममा फर्कनका लागि २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको सरकारको भनाइ छ । सिएमसीसँगको वार्तामा कुरा नमिलेपछि सरकारले मेलम्चीको काम अघि बढाउन नसकेको हो ।