बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न

अमेरिका त्यत्रो शक्तिशाली देश तर त्यहीँका राष्ट्रपति जोन एफ केनेडी बीच सडकमा ड्याङ्ग ड्याङ्ग गोली हानेर मारिए । पाँच दशक कट्न लाग्दा पनि त्यसको रहस्य अझै खुलेको छैन । उक्त हत्याकाण्डसँग सम्बन्धित थुप्रै पात्र समयक्रममा एकपछि अर्को गरी मारिए । 

सूचना, सुविधा र प्रविधिको कमिका कारण होला त अमेरिका सो हत्याकाण्डको अनुसन्धानमा चुकेको ? त्यसरी नै मदन भण्डारीका ड्राइभर अमर लामा पनि रहस्य गर्भमै बोकेर मारिए । उनी एमालेका कार्यकर्ता थिए तर कारवाहीबाट बच्न काँग्रेसमा प्रवेश गरे । गिरिजाप्रसाद कोइराला हत्याकाण्डको छानविन आयोग बनाउन सहजै तयार हुनुभएन बल्लबल्ल दरवारको समेत दवावमा झारा टार्न अनिल आयोग त बन्यो तर त्यसको चर्को विरोधपछि पुनःअर्को आयोग बन्यो । यसरी यो प्रकरणमा शुरुदेखि नै राजनीति घुस्यो । 

 

null

मदन भण्डारीको देहावसानपछिको आन्दोलन र चुनावले एमालेलाई ठूलो पार्टी बनायो । शोकलाई शक्तिमा बदल्ने भनियो तर, दोषी पत्ता लगाउने, छानबीन गर्नेतिर गम्भीरतापूर्ण ध्यान गएन । त्यसबेला धेरैले भन्थे, यसमा भारतको हात छ । अमेरिकाको संलग्नता छ । तर सिंगै देशलाई दोष लगाएर कसलाई समात्ने ? देशलाई त समात्न सकिंदैन ! यसमा पन्छिने काम मात्र भयो । 

बीपी कोइराला २०१६ सालमा चीन गएका थिए, फर्कनासाथ राजा महेन्द्रद्वारा अपदस्थ गरिए । वीरेन्द्रले पनि चाइना कार्ड प्रयोग गर्दा त्यो हविगत भयो । मरिचमानको नियति त्यही । ज्ञानेन्द्रले सार्कमा चिनलाई भित्र्याउँदा २४० बर्षको राजतन्त्र गयो । 

प्रचण्डले बेइजिंङ्ग ओलम्पिकको चक्करमा कटवाल काण्डसँगै बालुवाटारबाट झिटिगुन्टा कस्नुपर्यो । केपी ओलीलाई अघिल्लो चोटि त्यसरी नै लखेटियो । मदन भण्डारीको ज्यान पनि चीनबाट फर्केको एक हप्तापछि गएको हो ।२००६ सालमा बनेको कम्युनिष्ट पार्टी एउटाले अर्कोलाई निषेध नगरी अगाडि बढेको छैन । पुष्पलाललाई सोत्तर नपारी मोहनविक्रमहरु अघि बढेनन् । चौथो महाधिवेशनलाई निषेध नगरी मोटो मशाललाई फलिफाप भएन । साना तिनादेखि ठूलासम्म वाम समूहलाई नमिसाई माले शक्तिशाली बनेन । एमालेलाई तोडफोड नगरी माओवादी मोटाएन । 

२०५० सालमा मदन भण्डारीको देहावसान भएपछि २०५१ सालमा माओवादी जनयुद्धमा गयो । मदन भण्डारीको राम्रो मित्रता चिनियाँसँग थियो । 

राजदूत साओ जियाँग्चुसँग खानपिन हुन्थ्यो । बागबजारको पार्टी कार्यालय उद्घाटनमा आउने बिदेशीमध्ये उनी नै थिए ! दासढुगां दुर्घटनास्थल हेर्दा कसैले पनि भन्न सक्दैन कि यहाँ यस्तो हुनसक्छ । 

ड्राइभर बस्नेतिर नदी छ, नेताहरु भित्तातिर छन् तर, छेउको ड्राइभर सडकमा, कुनाका यात्रु त्रिशुलीको गहिराइमा । यस्तो कसरी संभव छ ? घटनाक्रम हेर्दा यसको बारेमा गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटा घटना पत्ता लगाउन एउटै सूत्रको पछाडि लागेर पुग्दैन । यसका विभिन्न आयामको बिश्लेषण गरिनुपर्ने हुन्छ । बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *