नाम र राजधानीका लागि सर्वदलीय छलफल, बैठक स्थगित

 

बैशाख १९, विराटनगर । प्रदेशको नाम र राजधानीको विषय टुंग्याउन प्रदेश नम्बर १ का राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । 

विराटनगरको बिग होटलमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुको जारी बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, कांग्रेसका प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राईको सहभागिता रहेको छ । 

null

प्रदेशको नाम र राजधानीको विषयमा प्रदेशमा बहुमत प्राप्त दल नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिन सक्ने देखिएको छ । छलफलपछि आउने निष्कर्षका आधारमा छोटो समय संसदीय दलको बैठक बसी नाम र राजधानीको विषय टुंग्याउने नेकपाको तयारी छ । 

यसैबीच प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव पेश गर्ने अन्तिम समयसीमा आइतबार अन्तिम दिन भएकाले दिनभरको छलफलमा पनि कुनै निष्कर्ष ननिस्किए प्रस्ताव हाल्ने समयसीमा बढाउने विषयमा पनि सभामुख प्रदीपकुमार भण्डारीसँग छलफल भएको बुझिएको छ । 

दलहरु नाम र राजधानीका विषयमा छलफलमै व्यस्त भएको कारण देखाउँदै आइतबार १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख भण्डारीले प्रदेशसभाको अर्को बैठक २२ गते दिनको १ बजेलाई बोलाइएको जानकारी दिइन् । 

राजधानी विकेन्द्रिकरण गर्न सांसदहरुको हस्ताक्षर संकलन 

यसैबीच सत्तारुढ नेकपाका सांसदहरुले नेता तथा पार्टीको माथिल्लो निकायको ध्यानाकर्षण गराउन भन्दै राजधानीका लागि हस्ताक्षर अभियान चलाएका छन् । 

सांसदहरुले चलाएको हस्ताक्षर अभियानमा इटहरीमा प्रदेशसभा सचिवालय राख्नुपर्ने, मोरङको गोठगाउँमा मन्त्रिपरिषद्को कार्यालय राख्नुपर्ने र प्रदेश प्रमुखको कार्यालय विराटनगरमा राख्नुपर्ने लविङ गरिएको बताइएको छ । 

यद्यपि यस खालको विषय राम्रो नभएको भन्दै बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले राज्यका संरचना विकेन्द्रीकरण गर्न नहुने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *