देउवाको मौनताले रसातलमा पुर्याएको कांग्रेसलाई कसले पार लगाउने ?
गर्बिलो बिगत नभएका, अपत्यारिलो भविष्य भएका र कुनैपनि हालतमा मुलुक, जनता र पार्टी भन्दा पनि स्वयंलाई महत्व दिने राजनैतिक अवगुण शेरबहादुर देउवाको आवरण तस्वीर हो ।
राजा ज्ञानेन्द्रसँग असहमत हुँदा कोइराला निवासको छिँडिमा र गिरिजाप्रसाद कोइरालासँग असहमत हुँदा दरबारको छिँडिमा रोइकराई गर्ने अद्भुत क्षमता भने उनीसँग लुकेको प्रतिभा हो ।
null
प्रजातन्त्र चाँदिको किस्तीमा राखेर दरबारमा बुझाउँदा पनि कुनै प्रकारको जरिवाना तिर्न नपरेका भाग्यमानी नेता देउवा कार्यकर्ता र जनताको बिचमा उभिएर सवाल जवाफ गर्ने हैसियत राख्दैनन् । नेपाली राजनीतिमा नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीका सभापति र पटक–पटक मुलुकको जिम्मेवार प्रधानमन्त्री भैसकेका देउवा (सार्वजनिक व्यक्तित्व) सामाजिक दायित्वबाट सजिलै उम्केर नीजि र व्यक्तिगत जीवन बिताउन रमाइलो मान्छन् ।
‘एउटा चुनावी घोषणा समेत नबनाइकन मैदानमा उत्रँदा कांग्रेस रसातलमा पुग्यो । यदी उक्त निर्वाचन अघि पार्टीले कम्तिमा जिल्ला भेला गरेको भए, कम्तिमा महाधिवेशन बैठक डाकेर आफ्ना नेता कार्यकर्तालाई ताजगी दिएको भए अहिले यो हालत हुने थिएन ।’
यत्रो उचाइको व्यक्तित्व नीजि र पारिवारिक हुनसक्छ ? उहाँको जवाफहिनता र गैर जिम्मेवारपनको जवाफ नेपाली कांग्रेसका कार्यकर्ताले कसरी र कहिले सम्म पुष्टि गर्न सक्छन् ! देउवाले केपी ओलीको दुई तिहाइ बहुमतको सरकारको रजगज भित्र रुमलिइसकेको र सत्ताको साझेदारी भित्र रहि सरकारलाई भित्री रूपमा सहयोग गरिरहेको भन्दै नेपाली जनता र आम कार्यकर्ताले प्रश्न उठाइरहेका छन् । तर, देउवा एक कानले सुन्ने अर्को कानले उडाउने गर्दै बसिरहेका छन् ।
देउवाले जिम्मेवार प्रतिपक्षी दलको नेताको हैसियतले सरकारका अनगिन्ती काण्ड, शिखरमा चुलिएको महंगी, नियोजित भ्रष्टाचार र विकास आयोजनाहरुमा देखिएका अनियमितताका विरुद्ध रोष्टममा उभिएर आफ्नो सारगर्भित जिम्मेवारी स्पष्ट गर्ने हैसियत गुमाइसकेका छन् । पछिल्ला दिनहरुमा देउवाको मौनताले यो कुरा पुष्टि गरिसकेको छ कि उनी कांग्रेसको सभापति हुन लायक रहेनन् । उनको बुद्धि र विवेक अनुसार सभापति पद भारी भएको छ ।
ओली सरकारले जता हिँड भन्छन् उतै लम्किने र यो बोल भन्दा त्यहि बोल्ने सरकारको लाचार छायाँले लोकतान्त्रिक पद्धतिमा कसरी प्रतिपक्षको नेताको अहम भूमिका निर्वाह गर्न सक्छन्, सोचनिय छ ।
अब कुरा गरौं, कांग्रेसको हविगतको । स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचन अगाडी कांग्रेसले आफ्नो लाइन क्लिएर गर्न सकेन । यसो भनौं आन्तरिक विवाद र गुट उपगुटमा रुमलिएको कांग्रेसले आफैंले घोषणा गरेको निर्वाचनमा आफ्नै पार्टीले भाग लिन्छ भन्ने नै भेउ पाएन । फलस्वरुप एउटा चुनावी घोषणा समेत नबनाइकन मैदानमा उत्रँदा कांग्रेस रसातलमा पुग्यो । यदी उक्त निर्वाचन अघि पार्टीले कम्तिमा जिल्ला भेला गरेको भए, कम्तिमा महाधिवेशन बैठक डाकेर आफ्ना नेता कार्यकर्तालाई ताजगी दिएको भए अहिले यो हालत हुने थिएन ।
निर्वाचनमा भोगेको पराजयको समिक्षा भइसकेको वर्तमान अवस्थामा पुनः त्यहि घाउ कोट्याउनु उचित नहोला । तर, अहिले कांग्रेसले देशव्यापी जागरण अभियान सुरु गरिरहँदा कार्यकर्ता भित्र उत्साह र उमंग नदेख्दा यो विषय उठेको हो । इतिहासमा भोगेको पराजयबाट पाठ सिक्दै अगाडी बढ्नु पर्दथ्यो । बिडम्वना, सभापति अझैपनि त्यहि गल्ती गर्दैछन् ।
संविधान कांग्रेसको नेतृत्वमा बनेको भनेर जस लिइरहेका सभापति देउवाले निर्वाचनमा भोगेको पराजयको जिम्मेवारी अझै पनि लिइसकेका छैनन् । यो नै ठूलो कमजोरी हो । अब पुनः पार्टीलाई पहिलेकै अवस्थामा लैजाने हो भने, सभापति देउवाले त्यागको राजनीति गर्नै पर्दछ । र, त्यो त्याग आउँदो महाधिवेशनमा देखाउनु पर्छ । कांग्रेसले मुलुकको लोकतन्त्र, गणतन्त्र, सार्वभौमिकता, अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ सदैव जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।
देउवाको मौनताले कार्यकर्ता विच्छिप्त भएका छन्, निराश भएका छन् । जागरण अभियानमा हिँड्ने जाँगर छैन । दिउँसै नुन खाएको कुखुरा जस्ता भएका छन् । यस विषम परिस्थितिबाट कांग्रेसलाई उठाउने जिम्मेवारी डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नयाँ पुस्ताको काँधमा आउनुपर्छ ।
लेखक योगेन्द्र साउद नेपाली कांग्रेसका साधारण सदस्य हुन् ।