टिकौलीको ढाँट स्थानान्तरण गर्न माग, नहटाए आन्दोलनको चेतावनी
जेठ १, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको वरण्डाभार जैविक मार्ग भरतपुर तर्फ राखिएको ढाँट हटाउन माग गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघले बुधबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ध्यानाकर्षणसहित टिकौलीको ढाँट हटाउन माग गरिएको पत्र बुझाएका हुन् ।
null
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले प्रजिअ बस्नेतलाई ४ वटा बुँदा समेटिएको माग पत्र बुझाएका थिए ।
संघले बुझाएको माग पत्रमा शून्य दुरिमा पूर्व पश्चिम राजमार्गको नारायणगढको पुल्चोक वा राप्ती नगरपालिकाको लोथरको पुलमा ढाँट राख्नुपर्ने, दैनिक प्रशासनिक, उपभोग्य सामान, औषधी उपचार, कृषिजन्य सामाग्री खरिद बिक्री गर्न आवत जावत गर्दा शुल्क उठाउने कार्य बन्द गर्नुपर्ने , वन्यजन्तुको आवत जावत हुने (कोरीडोर) क्षेत्रमा वन्यजन्तुलाई असर पुग्ने कार्य नगर्न नगराउन हुन सम्वन्धी निकायलाई अनुरोध गरिएको उल्लेख छ । ति मागहरु पुरा नभए चरणबद्धरुपमा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
जिल्लाको सदरमुकाम भरतपुरमा रहेको र दैनिक सेवा सुविधा वा अत्यावश्यक काम लिन भरतपुर जानुपर्ने हुँदा पूर्वी चितवन क्षेत्रमा बसोबास गर्ने नागरिकहरु दैनिक आफ्नो काममा सदरमुकाम जाँदा आउँदा गोन्द्राङ ढाँटमा सवारी कर बुझाउनु पर्दा एउटै जिल्लामा वेजिल्लावासी भएको महशुस भएको पत्रमा उल्लेख छ ।
सो ढाँटलाई जिल्लाको शुरु वा अन्तिम स्थानमा तत्काल स्थानान्तरण गर्न गर्नुपर्ने रेग्मीले बताए । माग पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एउटै जिल्ला भएर पनि ढाँटले दुई क्षेत्रमा विभाजन गरेको आफुले महसुस गरेको उल्लेख गर्दै सम्बन्धित निकायमा पत्र पुर्याई माग सम्बोधनमा पहल गर्ने बताए ।
टिकौलीमा बुधबारदेखि गंैटाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनको व्रिटानिक मौलाकालिका कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का पाएको छ । अहिले पुरानै दस्तुरमा शुल्क उठाइएको भएपनि साउनदेखी नयाँ दस्तुर लिईनेछ ।
नयाँ दस्तुर अनुसार बस, मिनीबस, ट्रक, मिनी ट्रकले रु १००, कार जिप, पिकअप भ्यान र ट्याक्टरले रु ४०, तीन पाङ्ग्रे टेम्पो र मोटरसाईकलले १० रुपैयाँ तिर्नुपर्नेछ ।
माग पत्र बुझाउन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुराल, संघका अध्यक्ष रेग्मी, उपाध्यक्ष रघुनाथ भट्ट, कोषाध्यक्ष देवी प्रसाद डल्लाकोटी, सदस्यहरु उपेन्द्र आचार्य, जोगेन्द्र महतो, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतको टोली जिल्ला प्रशासन कार्यालय गएको थियो ।