‘विमानस्थलबारे संसारभर रहेको नकारात्मक छवि सुधारे’

  

  

राजकुमार क्षेत्री 

null

नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थलमा सुधार गरेर मात्रै सन् २०२० को ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउन सकिने योजना अनुसार विमानस्थलको सुधारको काम तिब्र बनाइएको छ । त्रिभुवन विमानस्थलको छवि संसारकै खराब विमानस्थलमध्ये एकका रूपमा चित्रण गरिन्छ । यसैले अहिले विमानस्थलको सरसफाई, व्यवस्थापकीय काम र सुन्दरता अभिवृद्धिमा चुस्तता दिने काम भईरहेको छ । साथै ठुूला पूर्वाधार निर्माणका काम पनि सँगै अगाडि बढाइएका छन् । 

यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्ने यात्रु, सरकारी अधिकारी, सञ्चारकर्मीलगायत सरोकारवालाले विमानस्थलको व्यवस्थापन सुधारका विषयमा गुनासो गर्ने गर्थे । पछिल्लो समय व्यवस्थापन चुस्त बनायौँ र सजिलै गर्न सकिने कामलाई आजै, अहिल्यै गर्नुपर्छ भन्ने मान्यताअनुसार काम सुरु गर्यौं । विमानस्थलमा धेरै गुनासो शौचालयका विषयमा हुने गथ्र्यो । त्यसपछि बस्ने कुर्सी, यसबाहेक अस्तव्यस्त पार्किङ, ट्याक्सीको ठगी, जहाजको भिड, आकाशमा ट्राफिकजाम, सरसफाइमा ध्यान दिन नसकेकोजस्ता गुनासा पनि थिए । अहिले यी समस्याहरू क्रमशः समाधान गर्ने प्रयासमा छौँ । जुन गुनासाका कारण विमानस्थल मात्र नभई देशकै छविमा असर पुगेको थियो । अहिले छवि सुधारमा निकै मेहनत गरिरहेका छौँ । 

विमानस्थलको काम र जिम्मेवारी चुनौतीपूर्ण छ । अझ विकास निर्माण र सरसफाइको जिम्मेवारी लिएका कम्पनीहरूको ठूलो भूमिका र दायित्व हुन्छ । यहाँ सरसफाई र शौचालय व्यवस्थापन गर्न ठेक्का दिइएको छ । पहिले केवल कर्मचारीको भरमा सबै जिम्मेवारी छाडेर जाने, तर ठेकेदार आफैँले अनुगमन नगर्ने परिपाटी थियो । अहिले हरेक दिन ठेकेदार आफैँ विमानस्थलमा उपस्थित हुन्छन् । सरसफाईकर्मीहरुले हरेक पन्ध्र पन्ध्र मिनेटमा शौचालय सरसफाई गर्दै आएका छन् । गुनासो आउना साथ तत्काल सम्बोधन गर्ने र कुनै पनि कर्मचारी तथा अधिकारीले आफ्नो जिम्मेवारीमा कुनै सम्झौता गर्न पाउँदैनन् । 

 

अहिले विमानस्थल २१ घण्टा सञ्चालनमा छ । धावनमार्ग मर्मतको कारण पछिल्लो महिना दिन यता भने १० घण्टा विमानस्थल बन्द गरिएको छ । अव २ महिनापछि पुन २१ घण्टा सञ्चानमा आउनेछ । पहिला आन्तरिकमा बिहान ६ बजे मात्र टर्मिनल खुल्ने, पहिलो जहाज ७ बजे मात्र उड्ने अवस्था थियो । अब भने आन्तरिक टर्मिनल ५ बजे खुला गरिएको छ । त्यसपछि यात्रु आउने, सुरक्षा जाँच, विमानस्थलको अन्य प्रक्रिया पूरा गरी पहिलो उडान ६ बजे गर्न सक्दा १ घण्टामा करिब २०–२५ वटा आन्तरिक उडानका जहाज गन्तव्यतर्फ लागिसक्छन् । यसले ट्राफिकजाम घटाउन निकै मद्दत पुगेको छ । 

यसअघि विमानस्थलको आँगनमै अधिक पार्किङ, ट्याक्सीको भिड र सवारीसाधनले गर्दा विमानस्थलको स्वरूप नै कुरूप देखिएको थियो । यसको व्यवस्थापनका लागि अब विमानस्थलको मुख्य गेटनजिकै नयाँ व्यवस्थित पार्किङ सञ्चालनमा आएको छ । अब बाहिरबाट आउने सवारीसाधनले यात्रु छाडेपछि तत्काल फर्कनुपर्छ । बाहिरबाट आएका यात्रु लिन गएको सवारी तलकै पार्किङमा कुर्नुपर्छ र यात्रु झरेपछि लिन मात्र माथि जान पाउँछ । 

अहिले पार्किङ मात्र तल सारिएको हो, क्रमशः अन्तराष्ट्रिय यात्रु आगमन क्षेत्र व्यवस्थित गरी यात्रु सीधै पार्किङ एरियामै झर्न सक्ने पूर्वाधार बनिरहेको छ । त्यसो हुनासाथ विमानस्थल अगाडि केवल बाहिर प्रस्थान गर्ने यात्रु मात्र पुग्नेछन् । बाहिरबाट आएका यात्रु सीधै सवारी पार्किङ क्षेत्रमा निस्कनेछन् । यसबाट एकातर्फ यात्रुमा आगमन र प्रस्थान गेटबारे हुने अन्योल हट्नेछ भने विमानस्थलमा यात्रु पुर्याउन र लिन जाने आफन्तका कारण हुन जाने अधिक भिड पनि नियन्त्रण हुनेछ । 

विमानस्थलको अन्तराष्ट्रिय र आन्तरिक टर्मिनलमा एक हजार नयाँ कुर्सी थपिएको छ । अब दुवै टर्मिनलमा कुर्सी अभावमा यात्रु भुइँमा बस्नु पर्दैन । अन्तराष्ट्रिय टर्मिनलमा नयाँ सेन्ट्रल एसी जडान गरी वातानुकूलिन बनाईएको छ । पुरानो एसी आन्तरिक टर्मिनलमा लगेर जडान गरी सञ्चालनमा ल्याइएको छ । आन्तरिकतर्फ यात्रुले जहाज कुर्नसमेत स्थान अभाव थियो । अहिले आन्तरिकमा दुईतर्फ दुईवटा कोठा थप गरी एकसाथ डेढ सय यात्रु बस्न सक्ने सुविधा थपिएको छ । अब आन्तरिकमा तीनवटा गेट बनिसकेका छन् । 

अप्रिलदेखि विमानस्थलको धावनमार्गको पिच परिवर्तनको काम सुरु भएको छ । अब सबै धावनमार्गको पिच २ महिनाभित्र पूरा गरी नयाँ बनाईनेछ । अन्तराष्ट्रिय विमानस्थलमा धावनमार्ग र ट्याक्सी वेको लम्बाइ बराबर हुनुपर्छ । तर, हाम्रोमा ट्याक्सी वे आधा मात्र छ । यसलाई अब धावनमार्गसँग समानान्तर हुने गरी निर्माणको तयारी छ । छुट्टै हेलिकोप्टरको टर्मिनल बनाउने तयारी छ । त्यसपछि हेलिकोप्टरका लागि छुट्टै गेट बनाएर कर्मचारी, पाइलट र यात्रु सोही गेटबाट भित्रिने तथा बाहिरिने व्यवस्था कार्यान्वयन हुनेछ । 

स्थान अभावका कारण त्रिभुवन विमानस्थलमा धेरै ठूला पूर्वाधार थपेर यसको क्षमता बढाउने सम्भावना छैन । त्यसकारण वैकल्पिक विमानस्थल निर्माणमा लाग्नैपर्छ । तर, अहिले विमानस्थलको जुन स्वरूप छ, यो संसारकै एक ‘युनिक’ विमानस्थल भने बन्न सक्छ । यसलाई क्रमशः ‘बुटिक एयरपोर्ट’ का रूपमा विकास गर्ने अवधारणा छ । यसको सुरुवात हामीले गरिसकेका छौँ । यहाँ प्रयोग भएका आँखीझ्याल संसारका अन्य ठूला–ठूला विमानस्थलमा भेटिँदैनन् । हामीले आगमन कक्षमा दुई–दुईवटा गाग्रीमा भरीभरी पानी र त्यसमा फूल राखेर पाहुनाको स्वागत गरेका छौँ । यो हाम्रो मौलिकपनबाट धेरै विदेशी यात्रु प्रभावित हुने गरेका छन् । 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *