नर्सिङ पेसाको भविष्य र यसको गरिमा
आज मे १२ अर्थात् नर्सिङ दिवस । आज विश्वभरी विभिन्न कार्यक्रम गरी नर्सिङ दिवस मनाइँदै छ । विश्वमा फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसर पारेर नर्सिङ दिवस मनाउने गरिएको हो । सन् १८५४ मा बेलायत र रुसबीच युद्ध हुँदा फ्लोरन्स नाइटिंगेलले टर्कीमा रहेका घाइते सिपाहीहरूको उद्धार तथा उपचार सेवामा गरेको कामको सम्झनास्वरूप विश्वभर नर्सिङ दिवस मनाइन्छ ।
केही दशक अगाडिसम्म नर्सिङ पेसालाई समाजले हेर्ने दृष्टिकोण नै फरक थियो । तर, आजभोलि यो सम्मानित र आदर्शको पेसा भएको छ । जसले गर्दा आजभोलि नर्सिङ धेरैको रोजाइँको विषय बनेको छ ।हामीले राणाकाललाई सधैँभरि धिक्कार्ने काम गर्दर्छौँ । तर, एकतन्त्रीय राणाशासनकालमै नेपालले विभिन्न क्षेत्रमा विकासका कामहरू गरेको थियो । विक्रम संवत् १९८५ राणाशासनकालमै नेपालमा नर्सिङ पेसाको सुरुवात भएको पाइन्छ ।
null
नेपालको पहिलो नर्स उमादेवी दास हुन् । उनले नर्सिङ शिक्षा नेपाल सरकारकै छात्रवृत्तिमा भारतमा गएर अध्ययन गरेकी थिइन् । त्यतिखेर नेपालमा कुनै पनि नर्सिङ अध्ययन गर्ने विद्यालय थिएनन् । त्यसैले, उनलाई सरकारले छात्रवृत्तिस्वरूप अध्ययनका लागि भारत पठाइएको थियो ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१३ सालदेखि वीर अस्पतालबाट औपचारिक रूपमा नर्सिङ शिक्षाको थालनी भएको थियो । सुरुमा १० जना विद्यार्थीबाट सुरुवात भएको नर्सिङ अध्यापन आज नेपालभर निजी तथा सरकारी तवरबाट करिब ५० हजार जति नर्सिङ पेसामा आबद्ध भएको सरकारी आँकडा छ ।
पछि, ०२८ सालबाट त्रिभुवन विश्वविद्यालयले नर्सिङ शिक्षाको अध्ययन सुरु गर्याे । विश्वविद्यालयले २०३३ सालमा बिएन र २०५२ सालमा नर्सिङमा स्नातकोत्तर तहको पठनपाठन सुरु गरेको हो । पछिल्ला दिनमा २०५३ सालदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि बिएस्सी नर्सिङको पढाइ सञ्चालन गर्याे । त्यसपछि, थुप्रै निजी तथा सरकारी निकायले नर्सिङ विषयलाई प्राथमिकताका साथ पठनपाठन गराउँदै आएका छन् ।
नर्स भएर बिरामीको स्याहारसुसार गर्न त्यति सजिलो भने छैन । त्यसमा पनि असल र गुणकारी नर्स बन्न त झनै कठिन छ । स्वास्थ्यको क्षेत्रमा कर्मप्रति इमान्दार र निष्ठावान् प्रशस्त नर्स भेटिन्छन् । सेवामुखी पेसा भएकोले पछिल्लो समय नर्सिङतर्फ अध्ययन गर्नेको विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
यससँगै केही विकृति विसंगति पनि भित्रिएका छन् । नर्सिङ पेसा संवेदनशील विषय भए पनि कतिपय नर्सहरूमा सेवाको भावनाभन्दा जागिरे मानसिकता हावी हुँदै गएको छ, जसले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सास्ती हुने गरेको छ ।
तथापि, आफ्नो पेसाप्रति इमानदार भएर काम गर्ने नर्सहरू पनि नभएका होइनन् । त्यस्ता नर्सहरूप्रति जति सम्मान व्यक्त गरे पनि कमै हुन्छ । जसरी एउटा राम्रो डाक्टरलाई देख्नेबित्तिकै बिरामीले आफ्नो आधा रोग निको भएको महसुस गर्दछ, त्यसरी नै एउटा शिष्ट नम्र नर्सको स्याहारसुसार पाएर बिरामी पूर्ण रूपमा निको हुनसक्छ । त्यसकारण बिरामीको उपचारमा डाक्टरसँगै नर्सको भूमिका महत्वपूर्ण हुने भएकोले विश्वभर नर्सिङ पेसालाई मेडिकल शिक्षाका रूपमा राखिएको छ ।
निश्चित पाठयक्रम र अभ्याससहितको शिक्षापछि मात्र नर्सिङ पेसाको जनशक्तिलाई योग्य मानिन्छ । नेपालमा नर्सिङ पेसामा लाग्न चाहनेले कम्तीमा पनि तीन वर्षको अध्ययन पूरा गर्नुपर्छ । नर्सिङ पढाउने शैक्षिक संस्थादेखि अभ्यास गर्ने पेसाकर्मीले नेपाल नर्सिङ काउन्सिलको परीक्षा पास गर्नुपर्छ ।
सामान्यतया तीनजना बिरामीको बीचमा एकजना नर्स हुनुपर्ने प्रावधान छ । तर, नेपालमा भने एकजना नर्सले २० देखि ३० बिरामी हेर्नुपर्छ । नेपालमा नर्सिङ पढेका नर्सहरू कति नेपालमै कार्यरत छन् वा कति विदेश गए भन्नेसमेत नेपाल सरकारसँग तथ्यांक छैन । मुलुकको जनसंख्या र बिरामी संख्याको अनुपातमा कति नर्स आवश्यक छन् ? उत्पादित नर्सिङ जनशक्तिको खपत कहाँ र कसरी हुने गरेको छ ? त्यसले प्रवाह गरिरहेको सेवा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम छ, छैन ? सेवाको क्रममा आइपरेका चुनौती तथा अप्ठ्यारा के कस्ता छन् ? र त्यसको समाधान कसरी हुनसक्छ ? यावत् विषयमा सरोकार पक्षले ध्यान दिन आवश्वयक छ ।
नर्सिङ पेसालाई व्यावसायिक र मर्यादित बनाउन नर्सिङ काउन्सिल ऐन २०५२ परिषद् भए पनि त्यो काम चलाउ मात्र छ ऐनले समग्र नर्सिङ क्षेत्रको विकासका लागि केही गर्न सकेको छैन । नर्सहरूको क्षमता विकास व्यावसायिकीकरण गर्न ऐन कमजोर छ । आचारसंहिता उल्लघंन गर्ने नर्सिङ पेसाकर्मी उपर कारबाही गर्ने, उनीहरूको कामको नियमन अनुगमन गर्ने कार्यसमेत फितलो छ । पछिल्लो समय निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरूलेनर्सहरूलाई न्यूनतम सेवा सुविधासमेत नदिई १२–१४ घण्टासम्म काममा लगाउने गरेका छन् । यो विषयमा पनि काउन्सिलको ध्यानाकर्षण हुनुपर्छ ।
नेपालमा उत्पादित नर्सहरूलाई बे्रन ड्रेन हुनबाट रोक्नुपर्छ । सेवा मात्र होइन, आकर्षक तलब साथै अन्य सेवा सुविधाहरू बढाएर उनीहरुलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ । विदेश नजाऊन् पनि किन त ? देशमा न त नर्सको उचित तलब छ । कतिपय रोजगारीकै लागि महिनौं स्वयंसेवक बनेर शोषणमा पर्नु परेको छ । न त सेवाको कुनै मूल्यांकन नै हुन सकेको छ । विकसित देशमा नर्सको सेवा सुविधा अन्य पेसाको दाँजोमा निकै उच्च छ । तर, नेपालमा ठीक उल्टो छ । आफूले गर्दै आएको सेवामा आत्मसम्मान पाउन नसकेका नर्सहरूमा राम्रो काम र सम्मानको खोजीमा विदेशिने सम्भावना बढ्दै गएको छ ।
अहिले नेपालमा एउटा स्टाफ नर्सको मासिक तलब १० देखि २२ हजार रूपैयाँसम्म मात्र छ । तर, विदेशमा एउटा नर्सले मासिक एक लाखभन्दा बढी तलब सुविधा पाउने गर्दछन् ।
नेपालबाट कामका लागि बेलायत पुगेका नेपाली नर्सहरूको संख्या अहिलेसम्म पाँच हजार बढी पुगेको छ । बेलायतको कानुनअनुसार एनएमसीबाट पिन नम्बर लिएका नर्सहरू मात्र त्यहाँ योग्य रजिस्टर्ड नर्स मानिन्छन् । उनीहरूले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्दछ । जति नै सिनियर नर्स भए पनि बेलायतमा समयअनुसार नयाँ कोर्स अध्ययन गरिरहनुपर्छ ।
नेपालमा उत्पादित नर्सिङ जनशक्ति बिरामीसँग सम्बन्धित प्राथमिक सेवामा मात्र सीमित नभएर विश्व समुदायसँग प्रतिस्पर्धा गर्नसक्ने ज्ञान र सीपका धनी छन् ।
विश्व नर्सेस काउन्सिलले सन् १९६३ देखि विश्वका धेरै देशमा यो दिवस मनाउन थालेको हो । नेपालमा नर्सिङ दिवस दुईपटक मनाइन्छ । माघ १५ गते र मे १२ (वैशाख २९) गते ।
सेतो पहिरनमा नर्सको जीवन राम्रो देखिए पनि भित्रि मन रोइरहेको हुनसक्छ । कतिपय नर्सहरू त डाक्टरको असहयोग अनि थोरै तलबमा काम गर्नुपर्दा बिरामीप्रति अस्पतालको तनावले खुलेर बिरामीसँग सही सेवा दिन नसकेको पनि पाइन्छ ।
अबका दिनमा यसो नहोस् नर्स सेवा सबैको चासो अनि रहरको विषय बनोस्, विश्व नर्सिङ दिवसको सबैमा शुभकामना ।