भारतीय कामदारको भरमा इँटा उद्योग, काम गर्नै चाहँदैनन् नेपाली

 

बैशाख १८, विराटनगर । मोरङ जिल्लाका अधिकांश इँटा उद्योग भारतीय कामदारकै भरमा चल्ने गरेका छन् । काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय नै छन् । 

मोरङको कटहरीस्थित जय नेपाल इँटा उद्योगमा पनि सयौँ भारतीय मजदुरहरुले काम गर्दै आइरहेको पाइएको छ । सो इँटा भट्टामा भारत पश्चिम बंगालका एक सय बढी कामदारले काम गर्दै आइरहेको उद्योगका व्यवस्थापक यामकुमार श्रेष्ठले बताए । 

null

उनले भारतीय कामदारहर सरदार मार्फत् ठेक्कामा काम गर्न ल्याइने गरेको र काम गरे अनुसारको पारिश्रमिक दिइने गरेको बताए । उनका अनुसार इँटा उद्योगमा सिजनका हिसाबले भारतीय कामदारहरु आउने गर्छन् र एक सिजनमा उनीहरुले राम्रै आम्दानी गरेर स्वेदेश फर्कन्छन् । 

उनले भने, ‘यहाँ सिजन सिजनमा भारतीय कामदारबाटै काम चलाउनुपरेको छ । कमाई पनि राम्रै गरेर घर फर्कन्छन् ।’ 

 

श्रेष्ठले भारतीय कामदारले ठूलो रकम विदेश लाने गरेको भएपनि स्वदेशमा कामदार नपाइने गरेको बताए । व्यवस्थापक श्रेष्ठले नेपालमा कामदार नपाइने र नेपालीले इँटा उद्योगमा काम गर्न नचाहने गरेकाले भारतीय कामदारको भरमा स्वदेशी इँटा उद्योग सञ्चालन भइरहेको स्पष्ट पारे । ‘नेपालमा कामदार पाइँदैन’, उनले भने, ‘नेपालीलाई यो काममा रुची छैन । त्यसैले सबै इँटाभट्टा भारतीय कामदारकै भरमा चलेका छन् ।’ 

भारत पश्चिम बंगाल स्थित कुशबिहारबाट काम गर्न आएका मो. शमशेरले भारतमा इँटा उद्योगको संख्या कम भएको र नेपालमा जहिल्यै कामदारको अभाव हुने गरेकाले सहज रोजगारी पाइने हुँदा काम गर्न नेपाल आएको बताए । 

 

उनले भने, ‘यहाँ जहिल्यै कामदार चाही रहेको हुन्छ । सजिलैसँग काम र दाम दुवै पाइन्छ । भारतमा प्रशस्त इँट्टाभट्टा छैनन् । त्यसैले हामी परिवार सहित नेपालमा काम गर्न आउँछौँ । हामीलाई सरदारले ल्याउने गरेको छ ।’ 

मोरङका इँटा उद्योगी नेपाली कामदार राख्न खोजेपनि दक्ष कामदार नपाउँदा बाध्य भएर भारतीय कामदार राख्नु परेको बताउँछन् । उनीहरुले नेपाली कमदारलाई दक्ष बनाउन र यसतर्फ आकर्षित गरि इँटा उद्योगको कामदार अभाव पूर्ति गर्न तिनै तहका सरकारको ध्यान जान नसकेको गुनासो समेत गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *