मीठो भाषणले नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ !

बार्ह वर्ष भयो देशमा गणतन्त्र आएको । तिन वर्ष भयो संविधानसभाबाट संविधान घोषणा भएको । तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ? 

तपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायत विरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं ।  

कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ? 

null

 

यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्, आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियोस परिबर्तनका लागि थियो । 

नेतागण ! तपाईहरूको भर्याङ्ग अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले अमलेख हुन्छौं हामी ? 

कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन माँगिरहेका छन् । मधेसका मुसहर, चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् । 

दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार र रोजगार मागिरहेका छन् । महिलाले सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार !! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ? 

बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत–पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५–७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?समृद्धिजति आफ्नो भागमा पस्केर हामी जनतालाई गरिबी बाँड्नु भो ! कसरी बाँच्ने हामी गरिब जनता ? बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो । बजारमा श्रम बिक्नै छाडिसक्यो । के गर्नु नेतागण, हजुरहरूको मीठो भाषणले हामी नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ । 

बुद्धभन्दा चर्को स्वरमा शान्ति शान्ति शान्ति भन्नुहुन्छ । तर, हिंसा, आगजनी गर्न प्रतिस्पर्धा गर्न लगाउनु हुन्छ । खोई कसरी विश्वास गर्ने तपाईंहरूलाई हामीले ? हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ? 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *