मदन भण्डारीको ब्याज खाने कम्युनिष्टले हत्यारा पत्ता लगाउन किन चाहँदैन ? (भिडियाेसहित)
हरेक वर्ष जेठ ३ गते आउँदै गर्दा गणतन्त्रका महान् हस्ती मदन भण्डारी जहिले पनि दिमागमा आउँछन् । उनी तिनै हुन्, जसले ०४६ सालको बहुदल आउँदा सबैभन्दा बढी खुशी मनाए । बहुदलपछि नेपालको कुनै पनि कम्यूनिष्ट चर्चित थियो त थिए तिनै मदन भण्डारीका कारण । त्यतिन्जेलसम्म राजसंस्थालाई छुनु हुन्न भन्ने कम्यूनिष्टको धारबाट एक कदम अगाडि उठेर तत्कालीन माले महासचिव भण्डारीले राजालाई नै चुनौती दिँदै भन्ने गर्थे ‘राजनीति गर्ने भए श्रीपेच फुकालेर चुनावमा आऊ, म लड्न तयार छु ।’
तत्कालीन राजा वीरेन्द्रलाई दिएको मदन भण्डारीको त्यो चुनौतीले देश काँप्दथ्यो । स्वर्गिय मदन भण्डारीका गहकिला भाषणले युवाहरुका रौं ठाडा हुन्थे । जोश भरिदिन्थ्यो । जस्तासुकै मै हुँ भन्ने नेताहरु पनि भण्डारीसँग झुक्ने गर्दथे । राजालाई चुनौती दिने तिनै भण्डारी जुध्न पुगे तत्कालीन प्रधानमन्त्री एवं अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ सँग । किसुनजीको त्यतिबेला वाहीवाही थियो ।
null
‘मदनको निधन भएपछिका २६ वर्षमा नेपालको वाम आन्दोलन उनकै सिद्धान्तमा चल्यो र चलिरहनेछ’
भण्डारीले किसुनजीलाई हराएर नेपाली राजनीतिमा तरंङ्ग नै ल्याए । बहुदलअघि खासै चर्चामा नभएका मदन भण्डारी ०४८ सालको निर्वाचनमा किसुनजीलाई हराएर एकाएक शिखरमा आए । किसुनजीको राजनीति र ब्यक्तित्वमा कुनै कमी थिएन । तर, मदन भण्डारीको प्रखर जोशका अगाडि किसुनजीको केही लागेन । उनी यतिसम्मका प्रखर थिए कि त्यसले उनको पार्टीका अन्य नेतालाई समेत छायाँमा पारेको थियो । उनी आफ्नो पार्टीका सिंगो नेता बन्दै थिए । जसले समस्यामा पार्दै थियो उनकै पार्टीलाई ।
चर्चाका शिखरमा रहेकै बेलामा ०५० साल जेठ ३ गते दासढुङ्गामा उनको रहस्यमय मृत्यु भयो । गाडी दुर्घटनामा उनको मृत्यु भएको भनिए पनि त्यो मान्न सिंगो नेपाल तयार भएन । सुनियोजित हत्या कहलियो । उनीसँगै जीवराज आश्रित पनि मरे । यो घटनापछि एमालेले मदन भण्डारीको हत्या भएको निष्कर्ष निकाल्यो । विपक्षमा भएकाले सरकारलाई यसको आरोप लाग्यो । काँग्रेसको नेतृत्वमा सरकार भएकाले काँग्रेसलाई नै हत्याको आरोप लगाइयो । जीप चालक अमर लामा भने बाँचे । त्यसपछि नेकपा एमालेले पटकपटक मदन भण्डारीकै नाम बोकेर नेपाली राजनीतिमा आफुलाई स्थापित बनायो । मदन भण्डारीको निधनपछि अहिले उनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । एमालेले खुबै चर्का नारा लगाए पनि मनमोहन अधिकारी पहिलो कम्यूनिष्ट प्रधानमन्त्री बने पनि मदन भण्डारीको हत्याकाण्ड बारे कुनै छानबिनमा चासो दिएनन् । लोकतन्त्र आएपछि त कम्यूनिष्ट प्रधानमन्त्रीको बाढी नै लाग्यो । केपी ओली किटेरै मदन भण्डारीको हत्या भएको बताउँथे । उनले पनि चटक्कै भुले आफू प्रधानमन्त्री भएका बेलामा । त्यसरी नै माधवकुमार नेपाल, झलनाथ खनाल अनि कम्यूनिष्ट प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र पुष्पकमल दाहालले पनि भण्डारीको योगदानलाई बिर्सिए ।
भण्डारीको हत्याकाण्डको छिनोफानो अहिले सम्म लागेन । विद्यादेवी भण्डारी अहिले मुलुककै राष्ट्रपति छिन् । तर, आफ्ना श्रीमान स्व. भण्डारीको हत्यारा खोज्न उनको क्रियाशिलता शुन्य छ । अमर लामाले ०६० सालसम्म पनि दुर्घटनाबारे केही बताएनन् । अन्ततः ०६० सालमा उनको पनि रहस्यमय हत्या भयो । त्यसपछि दासढुङगा काण्ड झनै रहस्यमय बन्यो । यदि मदन भण्डारीको हत्या भएको थिएन भने अमर लामाको पनि हत्या हुने थिएन । तर अचम्म के भने एमालेकै चार जना प्रधानमन्त्री भए । कुनै पनि प्रधानमन्त्रीले दासढुङगा काण्डलाई निष्कर्षमा पुरर्याउने हिम्मत गरेनन् । नेपालका सबै कम्युनिष्टले मदन भण्डारीकै जनताको बहुदलिय जनवादलाई भर्याङ बनाएर राजनीति गरेर सत्तामा पुगेपनि भण्डारीका हत्यारालाई कठघरामा उभ्याउने हिम्मत गर्न सकेनन् ।
मदनको निधन भएपछिका २६ बर्षमा नेपालको वाम आन्दोलन सानो परिधिमा मात्र सिमित रहेको छैन । राष्ट्रिय राजनीतिमा मदन भण्डारीको प्रभाव अझै बढ्दै गएको छ । जेठ ३ गतेले भावुकताको बाढी लिएर आउँछ । नेपाली राजनीतिमा मदन–आश्रितको ठोस योगदानको पहिचान गर्ने कार्यमा कहिलेकाहीँ त्यही भावुकता सीमा बनेर उभिने गरेको जस्तो लाग्छ । मदन भण्डारीलाई एक व्याख्याता र सिद्धान्तकारका रुपमा स्मरण गर्नुपर्छ जस्तो लाग्छ भने जीवराज आश्रितलाई ती सिद्धान्त लागू गर्ने संगठन चलायमान बनाउने संगठनका रुपमा । अहिले माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर नयाँ पार्टी बनिरहेका बेला विचार निर्माण र संगठन निर्माण दुबैमा मदन–आश्रितको मार्गदर्शन अझ सान्दर्भिक भएको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई २०५४ सालदेखि नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्यो । यसबीचका २६ बर्षमा मदन भण्डारीबारे धेरै विचारविमर्श र शोधकार्यहरु भएका छन् । मदन भण्डारीका राजनीतिक योगदानलाई रेखांकित गर्ने ठोस विषयहरु छन् ।
श्रद्धासुमन स्व. भण्डारी