ज्यानमारा बन्यो हुलाकी सडक, मर्मत नहुँदा दिनहुँ दुर्घटना

धनगढी, ४ जेठ । धनगढी फूलबारी जोड्ने हुलाकी सडकमा निर्माण गरिएका कल्भर्ट फुट्दा निस्केका सरीया (फलामे छड) ज्यानमारा बन्न थालेका छन् । कल्भर्टबाट निस्केका सरियाका कारण दैनिक सवारी दुर्घटना हुने गरेका छन् । पछिल्लो एक डेढ वर्षको अवधीमा फुटेका कल्भर्टका कारण भएको दुर्घटनाबाट चार जनाको मृत्यु भइसकेको स्थानीय बताउँछन् । कल्भर्ट फुटेपछि निस्कने सरीयाले सो क्षेत्रमा दैनिक दुर्घटना हुने गरेको स्थानीय रुपमा तामाङ्गले बताइन् ।‘धनगढीदेखि फूलबारी सम्मको ११ किलोमिटर हुलाकी सडक ठाउँठाउँमा भत्किएर धराप जस्तै भएको छ’ उनले भनिन्–‘धनगढीको क्याम्पस चौकदेखि फूलबारीको जिरो प्वाइन्ट सम्मको ११ किलोमिटरको यात्रा मोटरसाइकल तथा अन्य साना ठूला सवारी साधनका लागि कष्टपूर्ण बन्दै गएको छ, तर मर्मत सम्भारका लागि कुनै पनि निकायले ध्यान दिएका छैनन् ।’ 

सो सडक निर्माण भए यता मर्मत सम्भार हुन नसक्दा कल्भर्ट फुटेर निस्केका सरियामा परी दैनिक दुर्घटना हुने गरेको फूलबारीकी सोभा चौधरीले बताइन् ।‘हुलाकी सडकमा बनेका साना कल्भर्ट भत्किएर फलामे छड निस्कँदा सडक ज्यानमारा बन्दै गएको छ’ उनले भनिन्–‘धनगढी देखि फूलबारी सम्म ठाउँ ठाउँमा कालोपत्रे उप्कीए उस्तै छ, त्यसमाथि ठाउँ, ठाउँका कल्भर्टको पहिलो ‘लेयर’ निस्केर फलामे छड छरपस्ट हुँदा झनै जोखिम बढेको छ ।’सडकमा हुने दैनिक दुर्घटनाका कारण सयौं मानिस घाइते हुनुका साथै केही मानिसको मृत्यु समेत भएको उनले बताइन् । उनले भनिन्–‘कतिपय सवारी चालक सरिया छल्न खोज्दा नालामा पर्ने गर्दछन् ।’ हसुलियाका ट्रयाक्टर चालक दिपक चौधरीले कल्भर्टमा निस्किएका सरियाका कारण टायर पञ्चर हुने तथा फुट्ने गरेको बताए ।‘दैनिक सडक आवतजावत गर्ने काम परिरहने भएकाले फूटेका कल्भर्टका कारण यात्रा कष्टकर हुने गरेको छ’ उनले भने–‘दिन प्रतिदिन बिग्रीदैं गएको सडक ज्यानमारा बन्दै छ, तर हुलाकी सडकको कार्यालयलाई भने कुनै चासो नै छैन, स्थानीयले पटक–पटक सडक मर्मतका लागि माग गर्दा समेत सुनुवाई भएन ।’सडकका खाल्डामा पानी भरिँदा होस या कल्भर्टका सरियाका कारण सुरक्षित यात्रा गर्न नै समस्या हुने गरेको उनले बताए । धनगढी फूलबारी सडक खण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकलाई त झनै जोखिम बढ्ने गरेको धनगढी वडा नम्बर–१५ का कलह चौधरीले बताए । उनले भने–‘धनगढीबाट फूलबारी, हसुलिया आउने यात्रुले सडकका कारण निक्कै कष्ट भएको दुखेसो गर्ने गर्दछन्, उनीहरुले प्रयोग गरेका यातायातका साधन बिग्रिने र टायर पड्किने हुँदा यात्रुले झनै कष्ट भोग्ने गरेका छन् ।’सडकमा परेका खाल्डाका कारण भन्दा कल्भर्टमा बिछ्याइएका सरिया निस्कँदा सवारी चालकलाई बढी जोखिम हुने गरेको उनले सुनाए । ‘कल्भर्टको पहिलो लेयर उप्किएर तल विछ्याइएका सरिया निस्कँदा सबैभन्दा बढी जोखिम बढेको छ’ उनले भने–‘ती कल्भर्टका सरियाले सवारी साधन दुर्घटनाको जोखिम बढेको त छ नै, त्यसमा पनि सवारी साधनका टायर पन्चर हुने र फुट्ने समस्या उच्च हुने गरेको छ ।’धनगढी स्थित हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा पटक–पटक धाउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय जगत जैशीले भने–‘हुलाकी राजमार्ग भारतीय जिआर गाभर कम्पनीले बनाए पनि उसले हतार हतारमा नेपाल सरकारलाई हस्तान्तरण गरेर पञ्छिएको हो, त्यसको संरक्षण र मर्मत संभार गर्ने निकायले ध्यान नै दिन सकेको छैन ।’सडक निर्माण गरेको दुई वर्षपछि मात्रै निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने र दुई वर्षसम्म भत्के बिग्रिएको मर्मत सम्भार गर्नुपर्ने सम्झौतामा भए पनि निर्माण लगत्तै हतारमा भारतीय निर्माण कम्पनी जिआर गाभरले सरकारलाई हस्तान्तरण गर्दा सरकारी पक्ष उदासिन बनेको उनको भनाई छ ।हुलाकी सडक मर्मत सम्भारका लागि गत आर्थिक वर्षमा कुनै बजेट नभएका कारण मर्मत सम्भार गर्न नसकेको बताउँदै धनगढी स्थित हुलाकी राजमार्ग आयोजना प्रमुख रामपुकार जैसवालले यसै असाढ मसान्त सम्ममा हुलाकी सडक मर्मत हुने बताए ।उनले हुलाकी सडकको मर्मतका लागि आइतबारदेखि ठेक्का प्रक्रिया सुरु हुने बताए । ‘कार्यालयले सडक मर्मतका लागि १५ दिने सूचना जारी गर्दै काम अगाडि बढाएको छ, आयोजना प्रमुख जैसवालले भने–‘आगामी असाढ मसान्त भित्रमै विग्रेको सडक र कल्भर्ट मर्मत गरि सक्ने लक्ष्य छ ।’बिग्रेका तथा भत्केका सडकको मर्मतका लागि ५६ लाख विनियोजन भएको बताउँदै आयोजना प्रमुख जैसवालले विभिन्न तीन चरणमा सडकलाई विभाजन गरेर टेण्डर आह्वान गरिएको बताए ।’ उनले भने–‘हुलाकी सडकको मर्मतका लागि कार्यालयले पहिला देखि नै पहल गर्दै आएको भएपनि बजेट विनियोजन हुन नसक्दा समस्या भएको थियो, बल्ल बजेट आएको छ, अब तीव्र गतिमा मर्मत कार्यलाई अगाडि बढाउँछौं ।’ लामो सयमदेखि हुलाकी सडकको कार्यालय प्रमुख विहिन हुँदा पनि केही समस्या भएको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *