अनुदानका लागि पठाइएको चामल स्थानीयवासीले पाएनन्, बाटोमै बिक्री भएको खुलासा

 

बैशाख १९, जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाइएको चामल बाटोमै बिक्री भएको छ। 

संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन्। 

null

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ। बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत ढुवानी गरेको एक हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा बिक्री गरेको बताए। 

सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा बिक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गरे। यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । बाटोमै वितरण भएको चामल रुकुम आठबिसकोट नगरपालिका त्रिवेणीका स्थानीयवासीले खरीद गरेका छन्। 

सहुलियको चामल बाटामै बिक्री गर्दा मुड्केचुलाका स्थानीय बासिन्दाले अहिलेसम्म चामल नपाएको बताएका छन्। सर्मी डिपोमा एक गेडा चामल नभएको प्रमुख पाण्डेले बताए। कर्मचारी वडा १, २ र ३ का वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा चामल बिक्री भएको बताइएको छ। 

तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको खाद्यान्न त्रिवेणीमा बिक्री भएको छ भने जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल अहिलेसम्म सर्मी डिपोमा आइपुगेको छैन। यता मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बाटोमै चामल बिक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारवाहीको माग माग गरेका छन्। 

उनले भने, ‘मुड्केचुलाका जनताले चामल नपाएर हैरान छन्, उता भने बाटोमा बिक्री गरेर के गर्न खोजेको हो।’ वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री–वितरण हुने गरेको अध्यक्ष शाहीले बताए। अहिले सर्मी डिपोमा खाद्यान्नका लागि दिनहुँ स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ। फोनको सहज पहुँच नभएको मुड्केचुला गाउँपालिकामा कामभन्दा पनि ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ। 

खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातीत अन्नबाट दैनिक जीविका चल्दै आएको छ। सरकारले अन्नुदानमा यहाँका जनतालाई उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री गरेर कागज मिलाउने काम गर्दा मुड्केचुलावासी चामलको अभावमा समस्यामा परेका छन्। 

सर्मीबाट रुकुमको त्रिवणीमा पुग्न एक दिन लाग्ने गर्दछ। त्रिवेणीबाट मर्सीसम्म आउने ढुवानी भाडामा नाफा हुने भएकाले बाटोमै बिक्री हुँदै आएको छ। खाद्यन्न अभावका कारण दैनिक समस्यमा पर्ने मुड्केचुलावासी उपलब्ध गराउने चामल बाटोमै बिक्री गरेर यहाँका जनताको भावनामा चोट पुगेको सर्मीका रामबहादुर सिंहले बताए। यो आर्थिक वर्षको चामल सर्मी डिपोमा अहिलेसम्म पुग्न नसक्दा सेवाग्राही मारमा परेका छन्। 

सडक सञ्जालसँग नजोडिएको यस क्षेत्रमा स्थानीयवासी दैनिक पीठ्यूँमा बोकेर खाद्यान्न ढुवानी गर्दै आएका छन्। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *