बाजुरामा पनि फैलियो अज्ञात रोग, दुई जनाको मृत्यु

 

बैशाख २०, मार्तडी । यहाँस्थित उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ । 

हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिइन् । उनका अनुसार सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको पनि सोमबार मृत्यु भएको छ । 

null

क्युडीमा सामान्य रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीय छप्कीबहादुर बुढथापाले जानकारी दिए । 

उनका अनुसार गाउँमा ज्वरोका कारण नदापाटा र क्युडीका अधिकांश स्थानीय बिरामी परेका छन् । 

बिरामी भएका अधिकांशलाई सामान्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखापरेको बुढथापाको भनाई छ । 

मृत्यु भएको खबर पाएपछि रुगिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थ्यकर्मीको टोली गएको अनमी मल्लले बताए । 

जिल्ला सदरमुकाम मार्तडीबाट करीब ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ । 

स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै दुई महिलाको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । केही सातायता हिमाली गाउँपालिकाको छिमेकी जिल्ला हुम्लाको ताजाकोट गाउँपलिकामा महामारीका कारण आठ जनाको मृत्यु भएको थियो । 

बाजुरा जिल्लाको छिमेकी गाउँपालिकामा महामारी फैलाएपछि गाउँमा कतै महामारी नै होकी भन्नेमा स्थानीय त्रसित बनेका छन् । 

यता हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मदत्त बुढाले स्थानीयको सामाजिक र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा रोगको सङ्क्रमण बढेको हुन सक्ने बताए । 

रोगको सङ्क्रमण फैलिएको उक्त क्षेत्रमा उपचारका लागि खटिएको रुगिन स्वास्थ्य चौकी प्रमुख पठाइएको शाखा प्रमुख बुढाको भनाई छ । 

छिमेकी जिल्लाका अज्ञात रोग आएकाले गाउँपालिकावासीलाई सतर्कता अपनाउन बुढाले आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *