हिजोमात्रै ‘हामी असुरक्षित हुन सक्छौँ’ भनेका थिए मृतक शेर्माले

 

जेठ ८, काठमाडौं । श्रीमती मनकुमारी फियाकसँग सम्बन्ध विच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका परिवारका ९ सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । 

सम्बन्ध विच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको सोमबार राति विभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे । 

null

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताए । सोमबार राति फियाक र शेर्माको घरमा रहेका नौ जनाको विभत्स हत्या भएको थियो । 

फियाक र शेर्माका परिवार आर्थिक रुपमा निम्न स्तरको रहेकाले परिवारका सदस्यहरुको रिसइबीका कारणले मात्रै घटना भएको हुनसक्ने स्थानीयको भनाई छ । स्थानीय शिक्षक गणेशप्रसाद लुइँटेलले भने, ‘आफ्नो मेसो गर्ने यो निर्धो परिवारमाथि अरु कसले किन हमला गर्छ ? हामी अरुले आक्रमण गर्ने कुरा सोच्नसमेत सक्दैनौँ ।’ 

लुइँटेलका अनुसार मृतक शेर्माले आफ्नो साढु भाइ (सालीको श्रीमान्) सँग आफूहरुमा मनमुटाव रहेको बताएका थिए । ‘हामी असुरक्षित हुनसक्छौँ भनेर धनराजले मलाई हिजो मात्रै भनेका थिए’, लुइँटेलले भने ‘आज यस्तो आपत आइ लाग्यो ।’ 

सम्बन्धविच्छेदले उब्जाएको द्वन्द्व 

बमबहादुर फियाककी कान्छी छोरी मनकुमारीको मानबहादुर माखिमसँग राजीखुशी विवाह भएको थियो । उनीहरुबाट जुम्लाहा बच्चा भए पनि शिशु अवस्थामै मरेका थिए । यसपछि मनकुमार माइतीमै बस्न थालिन् । 

मनकुमारीले मानबहादुर आफूसँग सम्बन्ध विच्छेद गर्न दबाब दिँदै आएकी थिइन् । मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूले भने, ‘सालीले सम्बन्ध विच्छेद गर्न चाहने, साढु भाइले नमान्ने । यही कारण द्वन्द्व उब्जिएको थियो ।’ 

वडाध्यक्ष हस्तराज फियाकका अनुसार उनीहरुबिच हालैमात्र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको थियो । ‘मानबहादुरले सम्बन्ध विच्छेद गर्न चाहेको थिएनन् तर पनि उनी केही साताअघि सम्बन्ध विच्छेदका लागि तयार भएका थिए’, वडाध्यक्ष फियाकले भने, ‘यो अकल्पनीय घटना सम्बन्ध विच्छेद स्वीकारोक्तिको परिणाम हो । हाम्रो सिङ्गो गाउँ आँशुमा डुबेको छ ।’ 

 

वडाध्यक्ष फियाकका अनुसार मानबहादुर तीन वर्षदेखि माइतीमा रहेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न नमान्नुको कारण आश्चर्यजनक छ । ‘यता नआए पनि एकोहोरो भएका छन् भन्ने सुनेका थियौँ’, वडाध्यक्ष फियाकले भने, ‘पछिल्लो पटक उनी लुकिछिपी यहाँ हिँड्ने गरेको सुनिएको थियो ।’ 

पाँचथर प्रहरीका अनुसार मानबहादुर माखिम आफ्नो घरभन्दा करिब डेढ किलोमिटर तल मलेदोको रुखमा झुण्डिएको अवस्थामा दिउँसो फेला परेका थिए । उनको साथबाट रगत पोतिएको खुकुरी, केही कपडा र झोला फेला परेको थियो । 

उनको शव फेला परेपछि नौ जनाको सामूहिक हत्यामा मानबहादुरको संलग्नता रहेको पुष्टि भएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । ‘तर, उसले एक्लै सबैमाथि खुकुरी हान्यो वा उसलाई सघाउने कोही थियो, त्यो खुल्न बाँकी छ’, पौडेलले भने, ‘अनुसन्धानबाट यो कुरासमेत खुल्ला ।’ 

एकान्तमा घर, कसैले जानकारी पाएनन् 

सोमबार राति धनराजको घरमा जस्मिताको उपचारका लागि धामी राखिएको थियो । धामीलाई धनराजले आफ्नै घरमा बस्ने जिद्दी गरे पनि धामीले मानेनन् । एकान्तमा रहेका दुवै घरमा एक–एक जनामात्रै पुरुष सदस्य थिए । 

धनराजको घरभन्दा माथि वडा कार्यालय तथा एउटा घर छ तर धनराजको कच्ची घर तल्लोपट्टि फर्किएका कारण घटना स्थानीयले राति जानकारीसमेत पाएनन् । 

बमबहादुरको घरको छेउमा दुई वटा घर रहे पनि एउटामा एक वृद्ध महिला र अर्कोमा एक युवतीमात्रै बस्दथे । प्रहरी अनुसन्धानले पनि एकान्तको मौकामा सबैमाथि खुकुरी प्रहार भएको देखाएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गरे । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *