‘रिकभरिङ धरान’ ले फेरिदिएकाे जीवन

 

सुनसरी उद्योग वाणिज्य संघको यसपटकको निर्वाचनमा वाणिज्य तर्फको सदस्य पदमा उम्मेद्वारी दिएका एक युवाको नाम हो दिनेश राई । 

दिनेश राई अर्थात, रिकभरिङ धरानका पूर्वअध्यक्ष । एक समय धरानलाई लागूऔषध प्रयोगकर्ताको शहर भनिन्थ्यो । धरानका कुनैपनि वडा लागूऔषध ‘दुर्ब्यसनी’ मुक्त थिएनन् । यस्तोमा दिनेश पनि लागूऔषध प्रयोगबाट विमूख हुन सकेनन् । अर्को शब्दमा भन्नुपर्दा उनीपनि ‘दुर्ब्यसनी’ भए । पाएजति सबै लागूऔषध खाए । परिवारका एउटाले बाटो बिराउँछ भने, त्यसले समाजलाई नै असर गर्छ । दिनेश राईका हकमा पनि त्यस्तै भयो । घरपरिवार हुँदै टोल छिमेकले पनि हेय दृष्टिले हेर्न थाले । 

null

‘चिनी पनि धेरै खायो भने तितो हुन्छ’ भने जस्तै दिनेश राईको जिवन पनि त्यस्तै भयो । आफ्नै जिवनदेखि दिक्क भए । घरपरिवारले सुधार्न गरेको प्रयास र आग्रहबाट उनी ‘दुर्ब्यसन’को लतबाट १८० डिग्रीको युटर्न मार्न तयार भए । अनी ह्दयको अन्तरकुनाबाटै लागूपदार्थ सेवा नगर्ने प्रण गरे । आफु त सुध्रिने प्रयास गरे तर, समाजमा उनीभन्दा पनि डरलाग्दो तवरले ‘दुर्ब्यसनी’मा फसेका युवाहरुको संख्या अनगिन्ती थियो । उनीहरुको विकराल अवस्था देखेर दिनेशले आफुमात्र नसुध्रने आफुसँगै धरानका युवाहरुलाई सुधार्ने अभियान चाल्ने अठोट लिए । अनी अन्य दुई चार जना युवाहरुको साथ लिएर गठन गरे ‘रिकभरिङ धरान’ 

‘लागूऔषध खाएर टोल र गल्लीमा भौतारिने युवाहरुलाई घरपरिवारमा पुर्नस्थापना गर्न त्यत्ति सजिलो थिएन, तर असंभव पनि रहेनछ ।’ परिवर्तन आफैंबाट गर्नुपर्छ भनेर लागेका दिनेशको अभियानलाई सुरुमा धेरैले हावामा उडाए । धराने भाषामा भन्नु पर्दा ‘एडिक’ले अर्को ‘एडिक’लाई कसरी सुधार्ला भन्थे । ‘तर, मैले त अठोट लिइसकेको थिँए, एक जना दुई जना गर्दा गर्दै धेरै युवाहरु आए, समाजमा पनि हामीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गयो । पुर्नस्थापन केन्द्रमा गएका युवाहरुलाई समेटेर सचेतना कार्यक्रम सुरु गरियो ।’ उनी भन्छन्–‘स्थानीय संघसंस्था, नगरपालिका, पुर्नजिवन केन्द्र जस्ता संस्थाहरुले हातेमालो गर्न थालेपछि अब हामीले नयाँ जिवन पायौं भन्ने लाग्यो ।’ 

दिनेश राईकै पहलमा स्थापना भएको रिकभरिङ धरानले युवाहरुलाई दुर्ब्यसनमा फस्नुहुन्न भनेर सचेतना मात्र दिएन । उनीहरुलाई आत्मनिर्भर हुनुपर्छ । घरपरिवारका लागि कमाउनुपर्छ र समाजमा उदाहरणीय बन्नुपर्छ भन्नेमा प्रेरित गर्यो । फल स्वरुप दुई चार वर्षमा धरानका धेरै युवाहरु ‘दुर्ब्यसन’बाट बाहिर निस्किए । कोहि बैदेशिक रोजगारीमा गए, त कोही स्वदेशमै रोजगार भए । 

कुनैबेला धरानका ‘डन’ भनेर चिनिने दिनेश राईको अहिले परिचय फेरिएको छ । युवाहरुलाई साथ लिएर बुद्धचौक, राँगा चौक डुलि हिँड्ने उनी आजकल युवा ब्यवसायी भएका छन् । समाजसेवी भएका छन् । 

विगत चार पाँच वर्ष यता उनले तायोमा सप्लायर्स सञ्चालन गरेर ब्यवसायी मात्र भएका छैनन् । दर्जनौं युवाहरुलाई रोजगारी पनि दिएका छन् । धरानका हरेक सामाजिक काममा सक्रिय हुन्छन् । अझ युवाहरुका लागि मोटिभेसनल गर्ने काम उनलाई औधी मन पर्छ । ‘मेरो विगतलाई मैले मेट्न त सक्दिन तर, बर्तमानलाई उज्यालो बनाएर अघि बढ्न त सक्छु नी !’ उनी भन्छन् । 

उनी विगतको तितो अनुभवलाई सम्झेर पछुताउनु भन्दा त्यसबाट पाठ सिकेर अगाडी बढ्नुपर्नेमा जोड दिन्छन् । ‘आजकल धेरै युवाहरुमा डिप्रेसन छ, दुर्ब्यसनबाट पुर्नजिवन पाएका युवाहरुले विगतलाई कोट्याउनु भन्दापनि त्यसबाट पाठ सिकेर नयाँ बाटो तयार पार्नुपर्छ ।’ उनी हरेक युवाहरुलाई यस्तै भन्दै हिँड्छन् । 

दिनेश राईमा आएको सकारात्मक सोचलाई धरानका नागरिक समाजदेखि राजनीतिक दलले समेत प्रशंशा गरेका छन् । ‘मान्छेले चाहे जस्तो सुकै समस्याबाट मुक्त भएर अगाडी बढ्न सक्छ भन्ने उदाहरण दिनेश राई हुन् ।’ धरानका राजनीतिक दलका नेताहरु भन्छन् । 

समाज परिवर्तनको लागि अघि बढेका दिनेश राई यतिबेला भने सुनसरी उद्योग वाणिज्य संघभित्रै कायापलट गर्ने संकल्प लिएर अघि बढेका छन् । यहि जेठ २७ गते हुन गइरहेको निर्वाचनमा युवा नेतृत्वको अभियान नै बोकेर उम्मेद्वारी दिएका राईले सुनसरी उवासंघलाई नयाँ रेखाबाट अघि बढाउन पनि युवाहरु आउनु पर्ने धारणा राख्छन् । ‘अबपनि उवासंघलाई परम्परागत तवरले सञ्चालन गर्ने हो भने, यसले उद्योगी ब्यवसायीको हित गर्न सक्दैन ।’ उनी भन्छन्–‘अब हामी जस्तो युवा ब्यवसायीको हातमा संस्था आउनु पर्छ ।’ 

दिनेश राईले उवासंघमा आफ्नो भुमिका १८ घण्टा सम्म रहने बताइसकेका छन् । ‘अहिलेसम्म जतिपनि नेतृत्वमा आए, समय कटाउन र आफ्नो ब्यापार ब्यवसायबाट फुर्सद कटाउन आए, दिनेश राईले स्पष्ट मार्गचित्र बनाएको छ, म पुरै १८ घण्टा संघको लागि दिन सक्छु ।’ उनी भन्छन् । 

राईले उवासंघमा नयाँ र पुराना विच फ्युजन गरेर नेतृत्व आउनुपर्ने बताउँछन् । ‘पुरानासँग अनुभव छ, नयाँसँग जोश जाँगर, दुवैको भावना एक भएपछि मात्र संस्था चलायमान हुन्छ । मेरो भिजन नै यहि हो ।’ 

यतिबेला मुलुकभर उद्योगी ब्यापारीहरुको साझा समस्याको रुपमा रहेको छ चन्दा आतंक । सुनसरीका उद्योगी ब्यवसायी यो बाट अछुतो रहने कुरापनि भएन । दिनेश राईले यहि कुरालाई प्राथमकितामा राखेर चुनाब लड्दैछन् । ‘राज्यलाई ट्याक्स पनि तिर्नुपर्छ, सँगैसँगै विभिन्न समुह, राजनीतिक दल, पार्टीहरुलाई चन्दा पनि । उद्योगी ब्यापारीको यो समस्या हल गर्न र चन्दा आतंक हटाउन पनि मेरो उम्मेद्वारी हो ।’ उनी भन्छन् । 

 

धरानमा राजनितिक दलको आडमा साना व्यापारीहरुमा चन्दा आतङ्क भयावह छ । सँगै टोले गुण्डाहरुले पनि धक्की दिने र चन्दा नदिए तर्साउने समेत गर्दछन् । यस्तो अवस्थामा धरानको स्थानिय प्रशासनले पनि उद्योगी व्यापारीलाई पर्याप्त सहयोग र सुरक्षा दिन सकिरहेको छैन । दिनेश राईले स्थानीय दल, समुह, प्रहरी प्रशासनसँगको सहकार्यमा चन्दा आतंक निमिट्यान्न पार्ने योजना बनाएका छन् । ‘ब्यवसायीलाई निर्वाधरुपमा ब्यवसाय गर्न दिने उवासंघले पहल गर्नुपर्दथ्यो, तर, सकिरहेको छैन । जसरी लागूपदार्थ दुर्ब्यसन मुक्त शहर बनाउन जिवन समर्पण गरें, अब उवासंघ भित्र रहेका फोहर मैला हटाउन लाग्नेछु । पद ओगटेर बस्ने हैन काम गरेर देखाउन आउनेछु ।’ 

वाणिज्य तर्फको सदस्य पदका लागि उम्मेद्वारी दिएका दिनेश राईको पक्षमा धरानका युवा तथा साना ब्यवसायीहर खुलेर लागेका छन् । खासगरी बर्तमान कार्य समितिले बेवास्ता गरेका ब्यवसायीहरुको नयाँ नेतृत्व आउनु पर्ने माग छ । 

कूल १ हजार ७ सय ४८ मतदाता मध्ये वाणिज्य तर्फ १ हजार ५५, उद्योग तर्फ ५९४, एशोशिएट तर्फ ८३ र वस्तुगत तर्फ १६ भोट रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *