समाजवादी पार्टीले सरकार नछाड्ने !

 

जेठ २६, काठमाडौं । नवगठित समाजवादी पार्टी नेपाल तत्काल सरकारबाट नबाहिरिने भएको छ । 

संघीय समाजवादी फोरम नेपाल, नयाँशक्ति पार्टीसँग एकता भएलगतै सरकार छाड्ने चर्चा भएपनि तत्काल नछाड्ने नेताहरुले बताएका छन् । 

null

उप–प्रधानमन्त्रीसहित सरकारमा रहेको संघीय समाजवादी फोरम नेपाल र प्रतिनिधि सभामा एक सिट मात्र भएको नयाँ शक्ति पार्टीबीच गत बैशाख २३ गते एकीकरण घोषणा भएको थियो । 

समाजवादी पार्टी घोषणाको एक महिना पुगिसक्दा समेत सरकार छाड्ने कि नछाड्ने भन्ने बारे ठोस निर्णय लिन सकेको छैन । पार्टी एकतापछि तत्कालिन नयाँ शक्ति पार्टीका नेताहरुले सरकारबाट बाहिरनुपर्ने धारणा राखेपनि तत्कालिन संघीय समाजवादी फोरमका नेताहरु भने सरकारमै रहनुपर्ने अडानमा छन् । सोही कारण सरकारमा रहिरहने कि छाड्ने भन्ने विषयमा पटक पटक बैठकमा छलफल भएपनि कुनै टुंगोमा पुगेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केपछि संविधान संशोधनलगायत माग सम्बोधन बारे छलफल गर्ने तयारी पार्टीमा रहेको सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘माग सम्बोधनका लागि सरकारलाई दिएको समय सकिएपनि सरकारमा सहभागीताबारे भने पार्टीले निर्णय गरेको छैन,’ श्रेष्ठले मकालु खबरसँग भने, ‘प्रधानमन्त्री ओलीबाट माग सम्बोधनको लिखित प्रतिबद्धता आए सरकारबाट तत्काल बाहिरिने छैनौँ ।’ 

दुई दल एकता भएको महिनादिन वितेपनि संगठनात्मक संरचना निर्माणको काम अझै पनि अघि बढेको छैन । दल दर्ताका लागि आवश्यक सम्पूर्ण काजगपत्र तयार भएपनि तत्काल निर्वाचन आयोगमा दल दर्ताको निवेदन नदिइएको नेताहरुको भनाइ छ । 

राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग एकीकरणको चर्चा रहेकोले उसैलाई पर्खिएको केही नेताहरु बताउँछन् । 

समाजवादी पार्टीका एक वरिष्ठ नेताले राजपा र जनमुक्ति पार्टीसँग एकीकरणका लागि कुराकानी जारी रहेकाले तत्काल पार्टी दल दर्ताको प्रक्रियामा नगएको स्पष्ट पारे । 

हालै मात्र मुलुकका विभिन्न ८ शहरमा एकीकरण सभा गरेको सो पार्टीले थप एक महिना अन्य दलसँग एकीकरण प्रयास गर्ने र सम्भव नभएमात्र निर्वाचन आयोगमा निवेदन दिने बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *