प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीले भने, ‘अब कोही युवा विदेश जानु पर्दैन’


जेठ २४, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
सरकारले भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका १ हजार ६ सय बेरोजगार युवाहरूलाई रोजगारी दिने गरी सूर्यविनायक नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको हो ।
null
चालु आर्थिक वर्षमा युवाहरूलाई उपलब्ध गराउने ३० दिने प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नं ३ अन्तर्गत भक्तपुरबाट शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको हो ।
उक्त कार्यक्रमका लागि जिल्लाका ४ वटा नगरपालिकामा करिब १६ सयले निवेदन दिएका छन् । सरकारले चार वटै नगरपालिकाका लागि २ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ।
चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार, सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित गरिएको प्रतिनिधिसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार युवाहरूलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेकाले यसलाई प्रभावकारी कार्यान्वयमा जोड दिने बताए ।
सरकारले युवाहरूलाई देशभित्रै रोजगारीका अवसरहरू ल्याएको उल्लेख गर्दै उनले अब बाध्यताले काम खोज्दै कोही पनि युवा विदेश जानु नपर्ने, कोही पनि युवा भोकै मर्नु नपर्ने दाबी गरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नदी सरसफाइ, सडक सरसफाइ, कुलो तथा सडक निर्माण, पाटिपौवा निर्माण लगायतका काममा युवाहरूलाई सहभागी गराइने उल्लेख छ ।
