विप्लवको बन्दः ट्याक्सी चालकसहित ७ कार्यकर्ता पक्राउ, कहाँ के भए ?

 

असार १०, काठमाडौं । विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ७ नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । 

प्रहरीले बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

null

भगीराज राईसहित कास्कीबाट एक जना, मकवानपुरबाट एक जना र पश्चिम रुकुमबाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्यको नाम ठेगाना सार्वजनिक भएको छैन । 

भगीराजलाई काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बा२च ३८१३ नम्बरको ट्याक्सी चालक हुन् । 

विप्लवको बन्दले आज देशभरको जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था तथा कार्यालयहरु पनि बन्द छन् । काठमाडौंमा भने बन्दको प्रभाव कमै देखिन्छ । यातायातमा खासै असर परेको देखिँदैन । 

काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा बम बिस्फोट, शंकास्पद वस्तुहरु फेला परिरहेका छन् । 

काठमाडौंको कीर्तिपुरको नयाँ बजार गेटनजिक शंकास्पद वस्तु फेला परेको थियो । तर उक्त वस्तु बम नभएको प्रहरीले पुष्टि गरिसकेको छ । 

यस्तै जावलाखेल खेल मैदानअगाडि होटलको सटरमा भेटिएको शंकास्पद वस्तु पनि बम नभएको पुष्टि भएको छ। उक्त वस्तु विद्यार्थीको झोला भएको पहरीले बताएको छ । 

यस्तै भक्तपुरमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। 

पोखरामा पनि शकांस्पद वस्तु 

पोखराको सिद्धार्थ चोकस्थित तरकारी बजारमा भेटिएको शंकास्पद वस्तु पनि बम नभएको प्रहरीले पुष्टि गरेको छ । 

कागजमा ‘टाइम बम’ लेखेर राखिएको शंकास्पद बस्तु बम भएको आशंकामा निष्कृय पार्न नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो । तर अनुसन्धानको क्रममा बम नभएको बताइएको छ । 

मोरङमा भेटिएको बम निष्कृय 

मंगलबार बिहान उर्लाबारीमा भेटिएको बम नेपाली सेना निष्कृय गरेको छ । प्रेसर कुकर बम सेनाले सुरक्षितसाथ निष्कृय गरेको हो । 

नवलपरासीमा उपमेयरको स्कार्पियोमा आगजनी 

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रमेशंकर मर्दनियाको लु१झ ३२१ नम्बरको स्कार्पियोमा अज्ञात समूहले आगजनी गरेको छ । 

आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको प्रहरीले जनाएको छ । विप्लव समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा फेला पारेको थियो । 

रामेछापमा ग्यास सिलिण्डर विष्फोट, अछाममा दुईवटा वडा कार्यालयमा आगजनी 

रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा कार्यकर्ताले राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा टायरमाथि ग्यास सिलिण्डर राखेर विष्फोट गराएका हुन् । 

त्यस्तै अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो । 

पञ्चदेवल विनायकमा आगजनीबाट कार्यालयमा रहेका सामाग्रीहरु जलेर नस्ट भएका छन् । मंगलबार बिहान २ बजेको समयमा आगजनी भएको हो । 

नुवाकोटमा मेयरको घरमा बम 

नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ। सोमबार राति मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो। 

उक्त बिहान मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ । 

झापाको कन्काई पुल, झापाकै भद्रपुर नगरपालिका, बर्दियाको गुलरियास्थित बन कार्यालय नजिक पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ८ मगनी चोकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *