डिप्लोमा तहमा विदेश जानेलाई नो अब्जेक्सन लेटर दिन रोक, हज्जारौं विद्यार्थी अन्यौलमा
जेठ २८, काठमाडौं । सरकारले नो अजेक्सन लेटर दिन बन्द गरेको छ । शिक्षा मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले अनिवार्य लिनुपर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेको हो ।
एसईई सकेर डिप्लोमा अध्ययन गर्न विदेश जाने बिद्यार्थीहरुलाई दिने गरेको नो अब्जेक्सन लेटर दिन बन्द गरिएको छ । मन्त्रालयले विश्वका अधिकांश देशहरुमा डिप्लोमा (भोकेसनल) र भाषा प्रशिक्षणका लागि जाने नेपाली विद्यार्थीहरुलाई दिने लेटर बन्द गर्दा एसईई गरेर डिप्लोमा गर्न विदेश जाने विद्यार्थीलाई प्रत्यक्ष असर परेको छ ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानका एक अधिकारीले सरकारको निर्णयले एसईई गरेर डिप्लोमा तह अध्ययन गर्न विदेश जान तयारी गरेका विद्यार्थीलाई प्रत्यक्ष असर गरेको बताए । ‘लाखौं विद्यार्थीहरु एसईई गरेर डिप्लोमा अध्ययनका लागि विश्वका विभिन्न देशहरु जान खोजिरहेका थिए । यो निर्णयले ती विद्यार्थीलाई प्रत्यक्ष असर परेको छ ।’ उनले भने ।
null
आज मंगलबारबाट डिप्लोमा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुले अनिबार्य रुपमा लिनै पर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरिएको मन्त्रालयले जनाएको छ ।अष्ट्रेलियाको एआइविटी कलेज खारेजीसँगै नेपाली विद्यार्थी अलपत्र परेको विषयले गर्दा सरकारले डिप्लोमा तहमा जाने विद्यार्थीलाई टाइट गर्न नो अब्जेक्सन लेटर बन्द गरेको बुझिएको छ । शैक्षिक परामर्श ब्यवसायी र सरोकारवालासँग कुनै छलफल नगरी एकलौटी रुपमा नो अब्जेक्सन लेटर बन्द गरिएको इक्यानका एक सदस्यले बताए । उनले सम्बन्धित निकायसँग यस विषयमा छलफल गर्ने बताए ।
१२ कक्षासम्म विद्यालय तह नै हुने भएकाले विद्यालय तहका लागि विदेशका विश्वविद्यालयमा पढ्न नपठाउने भन्दै शिक्षा मन्त्रालयले लेटर नदिन निर्देशन दिएकोले नो अब्जेक्सन शाखाले नो अब्जेक्सन लेटर दिन बन्द गरेको नो अब्जेक्सन लेटर शाखाका महेश्वर शर्माले बताए ।
नेपालबाट हरेक वर्ष विश्वका दुई दर्जन बढि देशहरुमा डिप्लोमा अध्ययन गर्न र भाषा प्रशिक्षणका लागि हज्जारौं विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेशिने गर्दछन् । अर्बोड स्टडीका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजलेण्ड, युके, जापान, इण्डिया जस्ता देशहरु नेपाली विद्यार्थीका लागि आकर्षक देशहरु हुन् ।