वीपी प्रतिष्ठानमा लागेको ताला ३ दिन भित्र नखोले कानुनी उपचारमा जाने १८ नं. वडाको चेतावनी

धरान, असार १३ । एमडि/एमएस विवादमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा प्रवेश गर्ने गेटमा लागेको तालाबन्दी तीन दिनभित्र खोल्न धरान उपमहानगरपालिका वडा नं १८ कार्यालयले आग्रह गरेको छ । 

वडा अध्यक्ष प्रविण राईले बिहिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी तीन दिनभित्र नखोले १८ नम्बर वडा कार्यालय र वडाबासी कानुनी उपचारमा जाने बताएका छन् । उनले पदाधिकारीले प्रतिष्ठानको शैक्षिक वातावरण गुणस्तरीय र राम्रो बनाउने जिम्मा लिएकाले जिम्मेवार भएर काम गर्नुपर्ने समेत बताएका छन् । 

अध्यक्ष राईले अवैधानिक, नियम विपरीत बन्द हडताल गर्ने विद्यार्थीहरुलाई कडा कारबाही गर्न भनेका छन् । ‘प्रतिष्ठानमा भइरहेको अराजक गतिविधिको अन्त्य गर्दै बिहिबार भएको शिक्षाध्यक्ष र उपकुलपतिको कार्यालयमा भएको तालाबन्दी हटाउन हामी वडाबासी जोडदार माग गर्दछौं,’ १८ नं. वडा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

null

यसैगरी विज्ञप्तिमा स्वास्थ्य र शिक्षाको उत्तम थलो प्रतिष्ठानलाई केही चिकित्सक तथा पदाधिकारीहरुको जुँगाको लडाईले धरासायी बन्नपुगेको भनिएको छ । विज्ञप्तीमा केही व्यक्तिहरुको उक्साहटमा प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले एमडी/एमएस विद्यार्थीको कोटाको बिषयलाई लिएर अनावश्यकरुपमा तालाबन्दी गरेको जिकिर गरिएको छ । 

 

प्रतिष्ठानले स्नातकोत्तर तह एमडी/एमएसको बिषयगत सिटमा एक तिहाई मात्र विदेशीलाई कोटा उपलब्ध गराउनुपर्नेमा राष्ट्रिय चिकित्सक शिक्षा ऐन २०७५ विपरीत धेरै कोटा छुट्याएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बिहिबार उपकुलपति र शिक्षाध्यक्षको कार्यालयको मुलगेटमा तालाबन्दी गरेको थियो । 

प्रतिष्ठानले नेपाली विद्यार्थीको सीट संख्या घटाएर विदेशी विद्यार्थीको सीट संख्या थप गरेको प्रति चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयले समेत ध्यानाकर्षण भएको जनाएका छन् भने, सरकारी चिकित्सकहरुको संगठन गोदान, प्रतिष्ठानका चिकित्सक तथा निजी चिकित्सकहरुको संगठनले समेत विरोध जनाएका थिए । 

प्रतिष्ठानले गत शनिबार सूचना प्रकाशित गरेर इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ। एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको थियाे । सर्जरीमा ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको थियाे भने, हेड एण्ड निक सर्जरीमा ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको थियाे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *