कलंकी मालपोतको सेवा आजबाट घरमै

 

असार ५, काठमाडौं । घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा/कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ । न त अब घण्टौँ लाईनमै बस्नुपर्छ, न त भर्याङ चढ्दै ओर्लँदै, कोठा कोठा खोजिरिहनु नै पर्छ । 

दिनभरीको समय खर्च गर्नूपर्ने बाध्यता त हटेको छ नै काम मिलाइदिने भन्दै घुस माग्न होस् या काममा आलटाल गर्ने कर्मचारीबाट समेत मुक्ति मिल्ने छ । नमुना मालपोत कार्यालय कलंकीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् । 

null

कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ । उनीहरुले मालपोत कार्यालयबाट पाउने सेवा घर वा आफूलाई पायक पर्ने जुनसुकै ठाँउबाट हेर्न सक्छन् । युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीले मालपोतसम्म धाउनुपर्ने बाध्यता हटेको हो । 

घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको र सेवाग्राहीले सेवा लिन सुरु गरिसकेको भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले जानकारी दिए । 

‘सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालय आएर सेवा दिनसक्ने प्रणाली ल्याइएको छ । सेवाग्राहीले कम समयमा सेवा लिन सक्नेछन्, यो सेवा बिहीबारबाटै सेवाग्राहीले लिन थालिसकेका छन्,’ उनले भने । 

कामका लागि मालपोत पुगेका सेवाग्राहीले पनि मालपोत कार्यालयको प्रवेशद्वारमा रहेको सहायता कक्षबाटै सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी र एकल सेवा बिन्दुबाट सेवा समेत पाउने छन् । सरकारले अनलाइन सिस्टम लागू गर्दै पहिलो नमुना कार्यालयका रूपमा कलंकीबाट सेवा शुभारम्भ गरेपछि यो सेवा सुरु भएको हो । उक्त नमुना मालपोतको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका हुन् । 

काठमाडौँको साँखु, पाँचथर र इलाम जिल्लामा यसै वर्षदेखि नमुना मालपोत कार्यालय सञ्चालन गर्ने सरकारको योजना छ । देशभरका २२ वटा मालपोत कार्यालयमा सीसीटीभी जडान गरिसकिएको छ । 

कुल १३१ भूमिसुधार तथा मालपोत कार्यालयमध्ये ६६ वटा कार्यालयमा ल्यान्ड रेकर्ड इन्फरमेसन म्यानेजमेन्ट सिस्टम लागू भइसकेको जानकारी दिइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *