चितवनका किसानले डिएसपीलाई भने– विगतको अवस्था नदोहोरियोस्

 

जेठ २९, चितवन । करिब एक वर्ष अघि चितवनको कालिका नगरपालिका–६ मा एक समुहले एकै रात ३ हजार गोटा केराको बोट फडानी गरेर नष्ट गरिदियो । त्यसले किसानमा त्रास उत्पन्न भयो । 

हावाहुरी, असिनापानीबाट आजित बनेका किसानहरुलाई गलत मनसाय राखेर गरिएको केरा फडानीले व्यवसाय छोड्नु पर्ने हो कि भन्ने चिन्ता बढ्दै गयो । आपराधिक क्रियाकलापमा संलग्न केहीलाई कारवाही भएको छ तर केरा किसानहरु अझै पनि ढुक्क भएर खेती गर्ने अवस्थामा छैनन् । 

null

इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यको स्वागतका लागि बुधवार आयोजित कार्यक्रममा चितवनका केरा किसानहरुले विगतको अवस्था दोहोरिन नदिन आग्रह गरे । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले स्वतन्त्र रुपमा केराखेती गर्ने अवस्था नरहेको बताए । 

‘निर्वाध रुपमा केराखेती गर्ने अवस्थामा छैन्,’ संघका अध्यक्ष महतोले भने, ‘केरा काट्ने ,चोर्ने, आगो लगाउने कार्य यो व्यवसायमा भएको छ । यस्तो कार्य पूर्ण रुपमा रोक्न आग्रह गर्दछु ।’ 

केरा वगान लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको भन्दै उनले यसको नियन्त्रणका लागि डिएसपी आचार्य समक्ष आग्रह गरे । 

चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले जिल्लामा केराखेती विस्तार हुँदै गएपनि केरा व्यवसाय असुरक्षित रहेको बताए । उनका अनुसार जिल्लामा ३ हजार विगाहा क्षेत्रफलमा करिब ७ सय किसानले केराखेती गर्दै आएका छन् । 

कार्यक्रममा चितवन केरा जोनका संयोजक खेमराज सुवेदी,संघका प्राविधिक सल्लाहाकार नोदनाथ लामिछाने, संघका पुर्व अध्यक्ष यज्ञ सुवेदी, सल्लाहाकार जयचन्द्र प्रसाद चौधरी, संघका महासचिव वेद भट्टराई लगायतले व्यवसाय गर्दा सुरक्षा निकायलाई गुहार गर्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्ने धारणा राखे । 

केरा किसानहरुको गुनासो सुनिसकेपछि इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले केरा व्यवसायमा सुरक्षा प्रत्याभुतिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । साथै आचार्यले आफ्नो कार्यकालमा असुरक्षाकै कारण व्यवसाय छाड्नु पर्ने अवस्था आउन नदिने उद्घोष समेत गरे । 

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *