कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

 

जेठ २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । 

गुठीसम्बन्धी विधेयकको विरोधमा राजधानीको माईतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकडको विरोध गर्दै कांग्रेसले सोमबारको संसद बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । 

null

प्रहरी दमनको भर्त्सना गर्दै कांग्रेसले गृहमन्त्रीको जवाफ माग गरेको छ । बैठक सुरु हुनासाथै कांग्रेस सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख महराले कांग्रेस प्रमुख सचेतक तथा सांसद बालकृष्ण खाँडलाई बोल्नका लागि समय दिएका थिए । संसदमा बोल्दै सांसद खाँडले सरकारले शान्तिपूर्ण रुपमा भेला भएका आम नागरिकमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरेका थिए। 

संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दे उनले आम मानिस, सरकार र राज्यको ध्यानाकर्षण गराउनका लागि शान्तिपूर्ण भेला भएर विरोध गर्ने अधिकार संविधानले पनि दिएको बताए ।  

‘बारम्बार संविधान विपरीतका विधेयक बारम्बार सदनमा किन प्रवेश गराउन खोजिन्छ ? संविधानको गम्भीरतापूर्वक अध्ययन गरियोस्। संविधानको पालना गर्नु पर्दैन। सरकार नै संविधानको उल्लंघन गर्दै छ,’ उनले भने। 

गुठीसम्बन्धी विधयेकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गर्दै उनले भने, ‘पछिल्लो पटक गुठी सम्बन्धी विधेयक अगाडि बढेको छ। यो सरकारले हाम्रो धर्म संस्कृत मठ मन्दिर र गुठिको अस्तित्वलाई समाप्त गर्ने ढंगले ल्याइएको छ। यसमा विधेयकमै पनि हाम्रो आपत्ती छ ।’ उनले संविधान विपरीतका विधेयकलाई फिर्ता लिन माग गरे। 

उनले सरकारले विदेशी धर्मप्रचारको टोपी लगाएर नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम गरेको पनि आरोप लगाए। ‘धर्म प्रचार विश्वविद्यालयले पिएचडीको टोपी लगाइदिन्छ। धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन, सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ। यो घोर आपत्तीजनक छ’, सांसद खाँडले भने। 

संसदमा सत्तापक्षकी सांसद पम्फा भुसालले पनि प्रहरीले गरेको दमनको विरोध गरेकी थिइन् । त्यसपछि भूमिसुधारमन्त्री पद्मा अर्यालले जवाफ दिएकी थिइन्। प्रतिपक्षी सांसदहरुले त्यसमा चित्त बुझाएनन्। मन्त्री अर्यालको जवाफपछि पनि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि संसद बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । 

आइतबार सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा माइतीघर मण्डलमा प्रर्दशन भएको थियो। नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवाः राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलगायत नेवार समुदायका अगुवाइमा प्रर्दशन भएको थियो। प्रर्दशनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । 

भीड तितरवितर बनाउन प्रहरीले लाठीचार्ज साथै पानीको फोहरा प्रहार गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *