के अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई साँच्चिकै समस्या परेको हो त ?

पछिल्लो ६ महिना यता शैक्षिक परामर्श ब्यवसाय उतारचढावमा छ । ठूला लगानीमा खोलिएका ब्राण्डेड कन्सल्टेन्सीले समेत राम्ररी काम गर्न र विद्यार्थीलाई परामर्श गर्न सकिरहेका छैनन् । एक हिसाबले अहिले कन्सल्टेन्सी क्षेत्र धरासायी भएको छ । अस्ट्रेलियाको एआइविटी कलेजलाई त्यहाँको सरकारी निकायले खारेज गरेसँगै देखिएको विवाद र अन्यौलताले कन्सल्टेन्सी ब्यवसायीलाई प्रत्यक्ष रुपमा समस्या पार्यो । एआइविटी केसमा नेपाली शैक्षिक परामर्श ब्यवसायी मात्रै दोषि हुन् ? के नेपाली विद्यार्थीलाई कन्सल्टेन्सीहरुले जानीजानी खाडलमा हालेकै हुन् ? यसका विभिन्न फ्याक्टरहरुलाई नकेलाई दोष दिने काम मात्र भइरहेका छन् । जुन सरासर गलत हो । 

कन्सल्टेन्सीको भूमिका मलाई लाग्छ नेपालका कुनैपनि कन्सल्टेन्सीले जबरजस्ती विद्यार्थी पठाएका छैनन् । जो विद्यार्थी अस्ट्रेलिया अध्ययन गर्न भनेर आएका छन्, उनीहरुले यहाँको कानुन, सिस्टम, शिक्षा, पढ्ने कलेजको प्रर्याप्त जानकारी लिएका हुन्छन् । कन्सल्टेन्सीले विद्यार्थी उच्च शिक्षाका लागि अस्ट्रेलिया आउनुपूर्व विद्यार्थी र कलेजका विच मध्यस्तता गर्ने काम मात्र गर्छन् । अस्ट्रेलियाको शिक्षा प्रणालीलाई नै दोष दिएर कन्सल्टेन्सीले नेपाली विद्यार्थीको भविष्य विगारे भन्ने सन्देश फैलाइयो यो एकदमै गलत भयो । 

 

null

गलत अफवाहले निम्त्याएको समस्यापछिल्लो समय अस्ट्रेलियाको भिसा रेट दिन प्रतिदिन खस्कँदो छ । पहिला नेपाली विद्यार्थीका लागि भिसा दिने प्रक्रिया निक्कै प्रशसनीय थियो । तर, केहीले ५–७ लाख रुपैंयामा अस्ट्रेलिया जान पाईने, तुरुन्तै भिसा आयो भन्ने गलत अफवाह फैलाउँदै सस्तो मार्केटिङ गर्न थाले । केही ब्यवसायीहरुले अनईथिकल काम गर्दा मर्यादित भएर काम गर्नेले समेत शिर झुकाउनुपर्ने अवस्था भयो । फेसबुकका वालमा यस्ता कुरा पोस्ट गर्दा अस्ट्रेलियाले यो कुरालाई सोसल मिडिया मार्फत ट्रयाक गरेर गलत प्रचार–प्रसार गरेको थाहा भएको हुनाले भिसामा कडाई गरेको देखिन्छ । 

अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परे जस्ता गलत खबर आएपछि अस्ट्रेलियन सरकारलाई आफ्नो देशको नराम्रो प्रचारबाजी भयो भन्ने लागेर होला अहिले भिसामा कडाई गरेको । यो केसले अस्ट्रेलियालाई भन्दा नेपाली विद्यार्थीलाई असर गरेको छ । अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो करियर बनाउँछु भन्नेहरुलाई समेत घात परेको छ । 

कन्सल्टेन्सीकै मात्र दोष हो त ? अस्ट्रेलियाको केसमा कन्सल्टेन्सीको मात्र दोष छैन । मुख्यतः अस्ट्रेलियन निकायले विदेशी विद्यार्थीको भिसा नीतिमा गरेको परिवर्तनले समस्या निम्तिएको हो । पोखरा, चितवनका लागि बसको टिकट काटेजस्तो होईन अष्ट्रेलिया जाने कुरा । भिसाको लागि बाटो खुलाउने काम कन्सल्टेन्सीकै हो । अहिले जतिपनि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया गएर त्यहाँको बिकास, त्यहाँको प्रविधि, त्यहाँको शिक्षा प्रणाली देख्ने अबसर पाएका छन् त्यो कन्सल्टेन्सीकै कारण भएको हो । तथापि, कन्सल्टेन्सी आफैँ विद्यार्थीको घरमा गएर ल्याएका छैनन् । विद्यार्थीको रुची चाहना बमोजिम कन्सल्टेन्सीले परामर्श मात्र दिने हो । 

विद्यार्थी जुन मुलुक जान चाहन्छ त्यो मुलुकको बारेमा ६ देखि १२ पेजको एसओपी (स्टेटमेन्ट अफ प्रपोज) लेख्नुपर्छ । उक्त देश किन जाँदैछु ? कुन विषय अध्ययन गर्दैछु ? कुन कलेज जाने ? अध्ययन पुरा गरिसकेपछि के गर्ने ? जस्ता महत्वपूर्ण विषयमा विद्यार्थी आफैंले एसओपी तयार गर्नुपर्ने पर्छ । सम्पुर्ण कुरा जानेर गइसकेपछि पनि कन्सल्टेन्सीले ललाई फकाई गरेको हो भनेर आरोप लगाउन कत्तिको जायज हो त ? 

एसओपी पढ्नु पर्दैन ?पैसा कमाउनकै लागि अरुको भविष्य धरापमा राख्ने प्रबृत्ति राम्रो होईन । विद्यार्थीले पनि आफ्नो काम गर्न खेताला लगाउनु भएन । घरमा बाबु–आमा थर्काएर खाएको जस्तो विदेशी भूमिमा हुँदैन । त्यहाँ त त्यो देशको नियम कानुन अनुसार पढ्ने, निश्चित समय काम गर्ने हो । पढ्न गएको विद्यार्थीले काम गर्न सकिन भन्न मिल्दैन । अस्ट्रेलिया जाने वित्तिकै सुन फल्छ भन्ने सोच राखेका विद्यार्थीहरुको कारण यो अवस्था आएको छ । 

ठिक छ, कतिपय विद्यार्थी आफैं एसओपी लेखेनन् होला तर, अरुले लेखेको भएपनि केके लेखिएको रहेछ अध्ययन त गर्नुपर्छ नी ! भोक लाग्यो भन्दैमा उम्लिँदै गरेको भातमा हात चोबेर भोक मेटिँदैन । हो, त्यस्को लागि निश्चित समय पर्खनुपर्छ । हतारमा अरुको देखासिखीमा अस्ट्रेलियाका समुन्द्री किनारमा र पार्कमा फोटो खिच्नकै लागि हतारिएर गएका विद्यार्थीमा समस्या होला तर, अस्ट्रेलियाको हरेक विषय बुझेर, त्यहाँ आइपर्ने संभावित समस्यासँग जुध्नका लागि आफुलाई शारीरिक, मानसिक रुपमा तयार पारेर गएका विद्यार्थीमा कुनै समस्या छैन । 

 

के अस्ट्रेलिया असुरक्षित नै भएको हो त ?केहि साता अगाडी सञ्चारमाध्यममा आयो । ‘अस्ट्रेलियामा दिनरात काम गरी लखतरान भएर धेरै नेपाली विद्यार्थीहरु त्यहाँका पार्क र रेल्वे स्टेशनमा अलपत्र परेका हुन्छन् । 

मलाई अचम्म लाग्यो । केहि महिना अघि म अस्ट्रेलिया बसेर आएँ, त्यहाँका नेपाली विद्यार्थीहरुसँग प्रत्यक्ष सात्क्षात्कार हुने मौका पाँए । तर, एक जना नेपाली विद्यार्थीले पनि मलाई यस्ता कुरा गरेनन् । नेपालबाट अस्ट्रेलिया गएका विद्यार्थीले निश्चित घण्टा मात्र काम गर्न पाउँछन् । कलेज जानै पर्यो, नियम अनुसार काम पनि गर्नुपर्यो । सँगसँगै फिल्डवर्क, आफ्नो ब्यक्तिगत काम समेत गर्नुपर्दा एकदमै विजी हुन्छन् । यस्तो ब्यस्त जिवनमा कोही पार्क र रेल्वे स्टेशनमा सुस्ताउँछ भने त्यसलाई अलपत्र परेको कसरी भन्न मिल्छ ? 

नेपाल र अस्ट्रेलियाको परिवेश फरक छ । त्यहाँ जताततै गार्डेन धुलो रहित सफा वातावरण र सुरक्षा छ । जुनसुकै ठाँउमा पनि बस्न, खान समस्या छैन । काम गर्नको लागि दिन रात भन्ने पनि हुँदैन । समय व्यवस्थापनको कुरा महत्वपूर्ण हो । यदी साँच्चिकै त्यस्तो दृश्य थियो भने, ति विद्यार्थीलाई नेपाल फिर्ता गर्न पहल गरौं न ! यसका लागि नेपाल सरकारले नै पहल गरोस । हामी ब्यवसायीले पनि अभियान थालौं । 

म दावीका साथ भन्छु अस्ट्रेलिया पुगेका १ प्रतिशत विद्यार्थी पनि यो अभियान सुरु गरे आउन चाँहदैनन् । कन्सल्टेन्सीलाई मात्र दोष लगाइरहने हो भने भोली नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने बाटो नै बन्द हुन्छ । यसले समग्रमा मुलुकलाई नै असर गर्छ । आज विदेश गएर उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले एक दुई पैसा जोगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । भोली त्यो बाटो पनि बन्द हुँदा समस्या झन बढ्छ । 

सजगताका उपायसमाधान हामीसँगै छ । सबैभन्दा पहिला जुनसुकै देश जाने भएपनि विद्यार्थीले त्यो देशको कानुन, शिक्षा प्रणाली, रहनसहन, कलेजको अवस्था, आइपर्ने समस्या र चुनौतिका बारेमा नेपालमै बुझेर अप्लाई गर्नुपर्छ । यसका अलावा आफुले परामर्श लिएको कन्सल्टेन्सी र काउन्सलरको लिगालिटी बुझेर गर्दा कुनै समस्या आउँदैन । र, यसका लागि विद्यार्थीले कुनै कोर्षको पाठ घोकेजस्तो गर्नुपर्दैन । अहिले हरेक विद्यार्थीको हत्केलामा विश्व अटाएको छ । इन्टरनेटको माध्यमबाट सम्पूर्ण जानकारी हासिल गर्न सकिन्छ । मात्र रिसर्च गर्नुपर्यो । कुनै कन्सल्टेन्सीले दिएको आश्वासनमा मात्र भरपर्नु भएन । नेपाल सरकारका आधिकारिक निकायसँग पनि जानकारी लिनुपर्छ । कन्सल्टेन्सीको ब्याकग्राउण्ड हेर्नुपर्छ । 

अस्ट्रेलियाको विकल्पहाम्रो देश विकासतर्फ लम्कदै गएको अवस्थामा धेरै दक्ष जनशक्ति आवश्यक छ । प्राविधिक जनशक्ति, डाक्टर, पाईलट, ईन्जीनियर सबै खालका दक्षता भएका व्यक्ति आवश्यक छन् । दक्ष जनशक्ति उत्पादनको लागि विकशित देशसम्म लैजाने पुलको काम कन्सल्टेन्सीको हो । 

अहिलेको अवस्थामा अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि हरेक कुराले सबैभन्दा उत्कृष्ठ देश हो । आर्थिक, शैक्षिक र अवसरका हिसाबले अस्ट्रेलिया भन्दा आकर्षक गन्तब्य नभएपनि अस्ट्रेलिया जत्तिकै राम्रा शिक्षा र अवसर भएका देश पनि नभएका हैनन् । युके, न्यूजल्याण्ड, क्यानडा इण्डिया, जापान लगायतका देशमा राम्रो शिक्षा प्रणाली छ । यूरोपका देशहरु पनि राम्रा छन् । 

कस्ता विषय अध्ययन गर्नेमुख्य रुपमा विद्यार्थीले पछि गएर देश विकास र समाज रुपान्तरणमा कस्तो विषय आवश्यक छ सोह अनुसार आफ्नो रुचि र सहजताको विषय रोज्नुपर्छ । पछिल्लो समय प्राविधिक सिप सहितका विषय विद्यार्थीका रोजाईमा परेका छन् । फार्मेर्सी, नर्सिङ, फिजियोथेरापी, डाइलोसिस टेक्नोलोजीलगायतका बिषयहरु मेडिकल क्षेत्रका विषय हुन् । ईन्जीनियरिङ क्षेत्रमा आर्किटेक्चर ईन्जीनियरिङ, सिभिल ईन्जीनियरिङ, एयरक्राफ्ट मेन्टिनेन्स ईन्जीनियरिङ, पेट्रोलियम ईन्जीनियरिङ, कम्युटर साइन्स इन्जिनियरिङ जस्ता विषयमा विद्यार्थी जाँदा राम्रो छ । यी विषय अध्ययन गर्न जाँदा भोली स्वदेश फकर्दा पनि मुलुकको विकासका लागि टेवा पुग्छ । (लेखकः क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक हुन् ।) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *