‘लोकसेवाको विज्ञापन’ बारे छलफलका लागि बोलाइएको बैठकमा गएनन् मन्त्री पण्डित

 

जेठ २४, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन् । 

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गरेको विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) बिहान बोलाइएको बैठकमा मन्त्री पण्डित अनुपस्थित भएका हुन् । 

null

बिहान ८ बजे बोलाइएको बैठकमा आफू उपस्थित हुनुपर्नेमा मन्त्री पण्डितले सचिव यादव कोइरालालाई पठाएका छन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले देशभरका स्थानीय निकायमा खुला कर्मचारी भर्नाको विज्ञापन गरेपछि समावेशी नभएको लगायत प्रश्न उठेको थियो । सोही विषयमा आज छलफलका लागि समितिले मन्त्री पण्डितलाई बैठकमा बोलाएको हो । यसअघि पनि यसै विषयमा जानकारी लिन समितिले बोलाउँदा मन्त्री पण्डित अनुपस्थित भएका थिए । मन्त्रीकै माग अनुसार राखिएको बैठकमा पुनः पण्डित अनुपस्थित भएपछि सांसद्हरुले आपत्ति जनाएका छन् । उनी अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले चर्को आलोचना गरेका छन् । 

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले संविधान विपरीत खुलाइएको लोकसेवाको विज्ञापन फिर्ता लिनुपर्ने तथा खारेज गर्नुपर्ने बताए । 

उनले स्थानीय तहमा तत्कालका लागि अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे। 

त्यस्तै सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले संविधानमाथि प्रहार हुने गरी विज्ञापन खुलाइएको भन्दै संविधानमाथि प्रहार हुने कुनै पनि गतिविधिले मुलुक संकटमा फस्ने बताए । उनले त्यस्ता गतिविधि रोक्नका लागि सरकारलाई निर्देशन दिन पनि समितिकी सभापति शशी श्रेष्ठको गम्भिर ध्यानाकर्षण गराए। 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने स्थानीय तहको माग अनुसार नै लोक सेवा आयोगमार्फत् स्थानीय तहको कर्मचारीका लागि पनि विज्ञापन खुलाइएको स्पष्टिकरण दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *