चट्याङबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाव
जेठ २७, काठमाडौं । चट्याङ प्राकृतिक प्रक्रिया हो । चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको विज्ञहरुको भनाइ छ ।
अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण छ । चैतदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ ।
null
विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ ।
चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एक प्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ। ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।
घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिन्छ ।
घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक बस्नु हुँदैन । विद्युतीय सामग्री प्लगमा जोड्न र ल्याण्डलाइन फोनमा कुरा गर्नु हुँदैन । तर मोबाइल फोन भने चलाउन सकिन्छ । गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुन्छ । चट्याङ पर्ने समयमा खेतमा पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न हुँदैन । धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले पानी नखेलाउँदा राम्रो ।
घरमा जडित सर्किटहरू बेला–बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।
अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।