अनुगमनमा कुहिएको मासु भेटियो
जेष्ठ २१, चितवन । चितवनको रत्ननगरमा रहेका मासु पसलहरु मध्ये केही पसलले चरम लापरवाही गरेको पाईएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी कुहिएको मासु विक्री गर्न राखेको पाईएको हो । जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले मंगलवार संयुक्त रुपमा गरेको वजार अनुगमनका क्रममा केही मासु पसलमा कुहिएको मासु फेला परेको थियो ।
null
रत्ननगर १ स्थित सुलेमान मिट सप्लायर्सले विगत एक महिना अघि काटेको मासु विक्रीका लागि राखेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विकी राउतले जानकारी दिए । ति मासु गन्हाएको अवस्थामा समेत भेटिएको थियो । अन्दाजी २० किलो कुहिएको खसीको मासु प्रहरी, पत्रकार, स्थानीयको रोहवरमा नष्ट समेत गरिएको राउतले वताए ।
त्यस्तै रोयल लोकल मिट सपमा समेत कुहिएको मासु भेटिएको थियो । मिट सपको फ्रिजमा कुखुराको खुट्टा कुहिएको अवस्थामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख राउतले जानकारी दिए । मासु व्यवसायीहरुले सवै पसलहरुमा सिसाको व्यवस्था गराउन नगरपालिकाले कडाई गर्नु पर्ने वताएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुव्वा खोवराज सुवेदीको नेतृत्वमा यहाँका करिव आधा दर्जन मासु पसलसहित मिष्ठान्न पसल, खाद्यान्न पसल र किराना पसलको समेत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा रत्ननगर २ टाँडी स्थित हाम्रो होटल स्वीट एण्ड चाट हाउसको भान्सामा फोहोर भेटिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका उद्योग अधिकृत पवन कट्टेलले जानकारी दिए । सोही होटलले लेवन नगरी खाद्य सामाग्री विक्रीका लागि राखिएको कट्टेलले वताए ।