गृहमन्त्रीको दाबीः विप्लव समूहका नेता प्रहरी मुठभेडमै मारिएका हुन्

 

असार ९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको मुठभेडमै भएको गृहमन्त्री राबहादुर थापा ‘बादल’ ले दाबी गरेका छन् । 

आज (सोमबार) बिहान बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरी मुठभेडमै भएको दाबी गरेका हुन् । 

null

बिहीबार सर्लाहीको लालबन्दीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएका थिए । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछी प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीको दाबी थियो । 

लगतै विप्लवकोे पार्टीले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरेको जिकिर गरेको थियो । 

यो विषयमा संसदमा पनि कुरा उठेको थियो । सांसदहरुले पौडेललाई मार्ने प्रहरीलाई कारवाही गर्नुपर्ने माग राख्दै गृहमन्त्रीको जवाफ मागेका थिए । 

गृहमन्त्री थापाले समितिको बैठकमा यसबारे जवाफ दिँदै भने, ‘दुई मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीलाई देख्नासाथ फायर गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो । सोही क्रममा उनको गोली लागि मृत्यु भएको हो ।’ 

उनले घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज वाग्मती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको पनि जानकारी गराए । 

गृहमन्त्री थापाका अनुसार घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र ६ थान गोली, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान, विस्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुमवासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान बरामद गरेको छ । 

उनले पौडेल मुठभेडमै मारिएको बताए पनि घटनाको छानविन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । मन्त्री थापाले भने, ‘अहिलेसम्म प्राप्त भएको रिपोर्ट अनुसार पौडेलको प्रहरी मुठभेडमै मृत्यु भएको हो । तर, जनताको फिल्ड रिपोर्ट पनि आएको भन्ने सुनेको छु, त्यसबारे सत्य तथ्य छानविन गरिन्छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *