धरानमा डेंगु संक्रमित ६० पुगे, नियन्त्रणमा देखिएन चासो

जेठ १८, काठमाडौं । धरानमा डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ । ज्वरो आएर उपचारका लागि अस्पताल पुगेकामध्ये करिब ६९ प्रतिशतमा डेंगु संक्रमण पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले जनाएको छ । 

शुक्रबार साँझसम्म ६० जनामा डेंगु संक्रमण पाइएको अस्पतालले पुस्टि गरेको छ । यो संख्या प्रतिष्ठानमा आइपुगेका बिरामीको मात्र हो । संक्रमित सबै धरानका विभिन्न वडाका बासिन्दा हुन् । 

प्रतिष्ठानका माइक्रोबायोलोजी विभाग प्रमुख डा. बसुधा खनालका अनुसार वैशाख २९ यता शुक्रबारसम्ममा १ सय १४ जनाको रगत जाँच गर्दा ६० जनामा डेंगु संक्रमण पाइएको छ । उनले भनिन्, ’धरानमा डेंगु संक्रमणको भाइरस फैलिएको १९ दिनभित्र विभिन्न कारणले ज्वरो आएर बिरामी भएकामध्ये ल्याब टेस्ट गर्दा पाइएको संख्या हो यो ।’ उनले सामान्यतया मनसुनपछि डेंगु देखिने भए पनि यो वर्ष प्रि–मनसुनअगाडि नै देखा परेको बताइन् । ’पानी परेको र गर्मी पनि अत्यधिक बढेका कारण डेंगु फैलिएको हुन सक्छ,’ उनले भनिन् । 

null

निजी अस्पताल गएका र अस्पताल नआएकाको संख्या अरू पनि हुन सक्ने खनालले बताइन् । उनका अनुसार ती ६० जना डेंगु संक्रमित भए पनि डेंगुका चार टाइपका भाइरसमध्ये कुन हो, छुट्याउनका लागि जेनेटिक टेस्टिङ गर्नु जरुरी हुन्छ । 

प्रतिष्ठानमा जेनेटिक टेस्टिङ गर्ने दक्ष विशेषज्ञ चिकित्सक माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले डेंगुको टाइप थाहा पाउन जेनेटिक टेस्टिङ जरुरी रहेको बताए । उनले भने, ‘भविष्यमा महामारी नफैलियोस् भनेर जेनेटिक टेस्टिङ गर्नुपर्छ तर यसका लागि केही रसायन अभाव भएकाले काम हुन सकेको छैन ।’ गत वर्ष काँकडभिट्टा र दमकमा फैलिएको डेंगुको जेनेटिक टेस्टिङ गर्दा टाइप तीनसम्मका भाइरस देखिएको थियो । कान्तिपुर दैनिक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *