फुटबल खेलमा हुँदैछन् यस्ता परिवर्तन

 

एजेन्सी, जेठ १८ । विश्वको सबैभन्दा प्रख्यात खेल फुटबलमा नियम परिवर्तन गरिने भएको छ । हाल चलनचल्तीमा रहेका केही नियमलाई परिवर्तन गरेर परिस्कृत गर्न लागिएको हो । विश्व फुटबलको नियमन गर्ने संस्था ‘इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड’ ले यस्तो तयारी गरेको छ । उसले ‘लज अफ् द गेम’ अन्तर्गत विभिन्न ६ वटा नियम परिवर्तन गर्ने तयारी गरेको हो । 

जसअनुसार परिवर्तित नयाँ नियम सन् २०१९ को जुन १ तारिखबाटै लागू हुनेछ । खेललाई थप सहज र तटस्थ बनाउन नियम परिवर्तन गर्न लागिएको हो । यहाँ परिवर्तन गर्न लाएिगका नियमबारे चर्चा गरिएको छः 

null

अहिले खेलको अवस्थाअनुसार कुनै पनि खेलाडी सब्सिच्युट हुँदा समय खपत गर्ने नियतले आरामले बाहिरिने गर्छन् । तर, अब त्यसो गर्न पाइनेछैन । नयाँ नियमअनुसार सब्सिच्युट हुने खेलाडीले आफू मैदानको जुन भागमा भए पनि आफू रहेको सबैभन्दा नजिकको लाइनबाट बाहिर निस्कनुपर्छ । 

अहिले फ्रि किक हान्ने बेला फ्रि किक लिने टोलीका खेलाडी पनि विपक्षी खेलाडी पनि मानव पर्खालसँगै रहन्छन् । तर, नयाँ नियमअनुसार अब फ्रि किक लिँदा विपक्षी खेलाडीका ३ वा सोभन्दा बढी खेलाडीको पर्खाल राखिएको अवस्थामा फ्रि किक लिने खेलाडी १ मिटर टाढै बस्नुपर्छ । 

यसो गर्दा मानव पर्खाल रहने बेला दुई पक्षका खेलाडीबीच हुने ठेलाठेल र तनावको अवस्था अन्त्य हुनेछ । 

हालको अवस्थामा ड्रप बलमा दुवै टिमका खेलाडी बल खोस्न अग्रसर हुन्छन् । तर, नयाँ नियमले यसलाई पनि परिवर्तन गरेको छ । जसअनुसार अबदेखि बल ड्रप भएका बेला जुन खेलाडीसँग बल हुन्छ वा जुन टिमका खेलाडीले अन्तिमपटक बल छोएको हुन्छ, त्यसै टोलीका खेलाडीले बल चलाउन पाउनेछन् । 

यदि बक्सभित्र बल ड्रप भएको खण्डमा भने टिमका गोलकिपरले बल रिलिज गर्न पाउँछन् । यो अवस्थामा दुवै टिममा खेलाडी कम्तीमा ४ मिटर दूरीमा रहनुपर्छ । 

नयाँ नियमअनुसार अब खेल दौरान टच लाइनमा बसेर खेल भावनाबिपरीत व्यवहार गर्ने प्रशिक्षकलाई पनि अवस्था हेरी पहेंलो वा रातो कार्ड दिइनेछ । 

अबदेखि पेनाल्टी प्रहारमा पनि नयाँ नियम लागू हुनेछ । पेनाल्टीक्रममा हुने विवादलाई अन्त्य गर्ने उद्देश्यले यसमा नयाँ नियम लागू गर्न लागिएको हो । 

अब नयाँ नियमअनुसार पेनाल्टी हान्ने बेला गोलकिपरले पोस्ट र क्रस बार छुन पाउनेछैन । त्यसैगरी, गोलकिपरको एउटा खुट्टा गोल लाइनमाथि वा भित्र रहेको हुनुपर्छ । यो नियमले पेनाल्टीमा हुने विवाद अन्त्य हुने अपेक्षा गरिएको छ । 

अब बक्सभित्र कुनै पनि खेलाडीको हातमा लागेर गोल हुन्छ भने त्यसलाई गोल मानिने छैन । तर, त्यो बेला बलले कसरी हातमा लाग्यो भन्ने कुरा हेरिनेछ । नयाँ नियम भन्छ– यदि कुनै खेलाडीको हातमा लगेर गोल हुन्छ । र, खेलाडीलाई बलको अवस्था थाहा छैन भने सो गोल मान्य हुँदैन । 

त्यस्तो बेला गोल रद्द गरेर विपक्षी टिमलाई फ्रि किकको मौका दिइनेछ । तर, बक्सभित्र दिइने भनिएको फ्रि किक प्रहारमा अन्य के–के सर्त रहन्छन् भन्ने कुरा प्रष्ट पारिएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *