आज इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं, २२ जेठ । आज इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’ । मुसलमान समुदायमा नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिने र सानालाई आशिर्वाद र गरिबलाई दान दिएर मनाइँदैछ । अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि तय गरिने इद उल फित्र दशौँ महिनाको पहिलो दिन मनाउने गरिन्छ । चन्द्रमाको अवलोकनका आधारमा मुस्लिम आयोग र विभिन्न संस्थाको सोमबार बसेको बैठकले (आज) २२ जेठमा इद मनाउने निर्णय गरेको थियो । 

उनीहरुको मागका आधारमा गृह मन्त्रालयले आजका लागि सार्वजनिक विदाको घोषणा समेत गरेको छ । मुस्लिम समुदायका मानिसहरु एक महिना लामो व्रत (रोजा) सकिएपछि अन्तिममा इद उल फित्र मनाउने गर्छन् । एक वर्षभित्र गरिएका पाप कटाउन रोजा विश्वास रहिआएको छ । 

 

null

आजको दिन आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने, आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । त्यसैगरी आफूभन्दा सानालाई आशीर्वाद दिने र गरिबलाई दान दिने चलन छ । धर्मग्रन्थ ‘कुरान’ का अनुसार इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी गरिबलाई बाँड्नुपर्ने मान्यता छ । 

राष्ट्रपतिद्वारा राष्ट्रिय एकता र सहिष्णुताको कामना इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिन् । संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेकी छन् । 

राष्ट्रिय एकता अझै मजबुत होस् : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् । संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ । सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको भनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *